भालुको छालासहित ३ पक्राउ



रुपन्देही । रुपन्देहीमा भालुको छालासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाडगंगा २ का ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेबी गाउँपालिका ७ का ४३ वर्षीय धनवीर विक र पाल्पा तिनाउ गाउँपालिका १ का लालबहादुर सारु रहेको प्रहरीले जनाएको छ ।

भालुको छाला, पित्त र दाँत सहित उनीहरु सैनामैना १० सालझण्डीमा रहेको अर्घाखाँची साज महल होटल एण्ड लजको १०२ नम्बरको कोठाबाट बिहीबार बेलुका पक्राउ परेका हुन् । सालझण्डी इलाका प्रहरी कार्यालयको टोली र पाँच नम्बर प्रदेश प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४७ इन्च लम्बाइ, २५ इन्च चौडाइ र ५ किलो तौल भएको भालुको छाला २ वटा पित्त र २ वटा दाँत बरामद भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्