छुट्टाछुट्टै स्थानमा २ युवकको शव फेला



गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो ।

नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा हतियार प्रयोग गरिएकाले पहिचान खुल्न सकेको छैन ।

त्यस्तै बिहीबार नै जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातु खोलाको किनारमा स्थानीय रामदत साहका छोरा २१ वर्षीय सरोज साहको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

युवक साहको पनि नाक, अनुहारलगायतका भागबाट रगत बगेको र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पु¥याइएको छ भने दुवै घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्