गोरखाका दुर्गम गाउँमा केन्द्रिय विद्युत विस्तार हुँदै



गोरखा । गोरखामा ७८.३ प्रतिशत ग्राहकले केन्द्रीय प्रशारणको विद्युत प्रयोग गरेका छन् । जिल्लामा बसोबास गर्ने दुई लाख ७१ हजार ६१ जना मध्ये ७८.३ प्रतिशत जनसंख्याले केन्द्रीय प्रसारण लाईनको बिजुली उपभोग गर्दै आएका प्राधिकरणको गोरखा वितरण केन्द्रले जनाएको छ ।

क्षेत्रफलको हिसाबले भने जिल्लाको ३० प्रतिशत भूभागमा मात्र केन्द्रीय प्रशारण लाइन विस्तार भएको केन्द्रका प्रमुख माधब न्यौपानेले जानकारी दिनुभयो ।

उनका अनुसार बिगत एक बर्षको अबधिमा करीब ११ प्रतिशत विद्युतका नयाँ ग्राहक थपिएका छन् । आर्थिक बर्ष २०७५/७६ मा चार हजार सात ग्राहक थपिएका नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

अघिल्लो आर्थिक बर्ष ३७ हजार ६४ ग्राहक रहेकोमा अहिले ग्राहक संख्या ४१ हजार ७१ पुगेको छ । केन्द्रले ग्रामीण क्षेत्रमा विद्युत विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । अजिरकोट गाउँपालिका अन्तरगत मुच्चोकको राम्चे, धारापानी, कसुण्डे, सिम्जुङको झ्याँवा, पोखराटार, ढोडेनी र बालुवा तथा हंसपुरको धादिङगरा, काफलडाँडा र घोगिनीमा आर्थिक बर्ष २०७५/७६ मा विद्युत विस्तार भएको छ । अघिल्लो बर्ष ५१.३ किलोमिटर ११ केभी र ९२.४१ किलोमिटर एलटी लाईन बिस्तार भएको केन्द्रले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीको धुनचोकटार, सौरपानी, हटियामा पनि केन्द्रीय प्रशारण लाईन बिस्तार भएपनि केहि प्राविधिक काम बाँकी रहेको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिनुभयो । ‘अबको दुई महिनामा बारपाकमा पनि केन्द्रीय लाईनको बिजुली बल्छ’ उहाँले भन्नु भयो, ‘यही आर्थिक बर्षको अन्त्यसम्ममा लाप्राकमा पनि बिजुली पुर्याउने लक्ष्य छ ।’ चालु बर्ष थप चार हजार ग्राहक थप गर्ने केन्द्रको योजना छ ।

नयाँ प्रसारण लाईन बिस्तार सँगै प्रसारण लाइनको मर्मत सम्भारलाई पनि सँगसँगै अघि बढाएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्