फरार अभियुक्तबाट ३२ करोड बढी रकम असुल गर्न बाँकी



भद्रपुर । जिल्ला अदालतले मुद्दा फैसला पश्चात फरार अभियुक्तबाट करोडौ रुपैँया रकम असुल गर्न बाँकी रहेको जनाएको छ । फरार रहेका ३६ सय ७३ जना मध्ये १५ सय ८२ जनाबाट आर्थिक वर्ष ०७५।७६ मा ३ करोड ९४ लाख २३ हजार ३ सय ७२ रुपैयाँ असुल गरेको छ ।

जसमा विषेश अभियान अन्र्तगत १ सय ८७ जना रहेका छन् । उनीहरुबाट समेत ४५ लाख ८८ हजार २ सय ७४ रुपैयाँ ८३ पैसा असुल गरिएको थियो । गत आर्थिक वर्ष ०७४।७५ मा जिम्मेवारी सरेर आएको समेत गरी २० करोड ४७ लाख ८८ हजार १ सय ६ कैद जरिवाना उठाउन देखिएकोमा ५ करोड २७ लाख ७६ हजार ३ सय ७ रुपैया असुल भएको थियो । चालु आर्थिक वर्ष ०७६।७७ मा २१ सय ९१ जनाबाट ३२ करोड ५६ लाख ९ सय १७ रुपैयाँ ३२ पैसा नयाँ जिम्मेवारी सरेर आएको अदालतका तहसिलदार नेपालले जानकारी दिनुभयो ।

४३ सय ६६ वर्ष ४ महिना १५ दिन असुली हुन बाँकी

जिल्ला अदालतबाट कैद समय तोकेको मध्ये ४३ सय ६६ वर्ष ४ महिना १५ दिन अझै असुली गर्न देखिएको छ । अदालतका तहसिलदार टिका प्रसाद नेपालले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष ०७५।७६ मा २७ सय ६ वर्ष ५ महिना २७ दिन फर्छोट भएको छ । ३७ सय ७३ जना फरार अभियुक्तमध्ये १५ सय ८२ जनाबाट लागत असुल भएको उनले जानकारी दिए । जसमा विषेश अभियान अन्र्तगत १ सय ८७ जनाबाट १ सय ७१ वर्ष १० महिना ३ दिन कैद असुल गरिएको थियो ।

आर्थिक वर्ष ०७४।७५ मा फछर्यौट हुन बाँकी समेत गरी ५८ सय ९७ वर्ष १० महिना २५ दिनमा ८ सय ३४ वर्ष ११ महिना ४ दिन फछर्यौट भएको थियो । ३२ सय ९५ जना अभियुक्तमध्ये ४ सय ९८ जनाबाट यो असुल भएको थियो । अझै २१ सय ९१ अभियुक्तबाट लागत असुल गर्न बाँकी रहेको उहाँले बताउँनुभयो ।

पछिल्लो समय अदालतबाट सोचेभन्दा बढी कार्य सुधार भइरहेको अदालतका श्रेस्तेदार दुर्गा प्रसाद खनालले जनाउँनुभयो । फरार अभियुक्त आफै हाजिर हुने र कसैलाइ विषेश अभियानबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्