प्रहरीद्वारा अवैध मदिरा नष्ट



विमल विष्ट, डोटी । ईलाका ईलाका प्रहरी कार्यालय दिपायल पक्राउ गरेको रु ७० हजार परिमाणको अबैध मदिरा नष्ट गरेको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडान. ३ डुम्राकोट लैजाँदै गरेको अवस्थामा प्रहरलिे पक्राउ गरेको उक्त मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायव निरिक्षक कमलापती पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मदिरा निषेधीतत क्षेत्र घोषणा गरिएका ठाउँमा मदिरा लैजादै गरेको हाम्रो प्रहरी टोलीले भेटाएपछि पक्राउ गरेर ल्यायौँ र नष्ट गरेकाछौँ ।” दिपायल सिलगढी नगरपालिका वडानं. १ का वडा अध्यक्ष बहादुरसिंह खड्का, वडानं. ३ का अध्यक्ष चक्रबहादुर माझी,स्थानीयवासी,प्रहरी तथा पत्रकारको रोहवरमा उक्त मदिरा नष्ट गरिएको हो । नष्ट गरिएको मदिरामा भोड्का, जिनियल, प्रिमियम, रेन्बो, ओरेन्ज सौंपी, कमाण्डो बियर लगाएतका मदिरा रहेको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी कमाण्डो बियर ५ पेटी, रेन्बो ४ पेटी, जिनियल २ पेटी, प्रिमियम १ पेटी र अन्य फुटकरमा ३ कट्टा गरी १५ पेटीभन्दा बढी मात्रामा अवैध मदिरा नष्ट गरिएको हो । उक्त मदिराको लागत रमक करिब रु ७० हजार भन्दा बढी हुन आउने बताईएको छ । प्रहरीका अनुसार यस आर्थिक वर्षमा जिल्लामा पहिलो पटक सबैभन्दा धेरै परिमाणमा मदिरा नष्ट गरिएको हो ।

गएको जेठ ९ गते भएको निर्णय अनुसार आफुहरुले दिपायल सिलगढी नगरपालिका वडानं. १ लाई यहि श्रावण १ देखि मदिरा निषेधीत क्षेत्र घोषणा गर्ने योजना अनुसार श्रावण १ देखि १४ गतेको अवधीमा उक्त मदिरा बरामद गरी नष्ट गरिएको सो वडाका अध्यक्ष बहादुर सिंह खड्काले बताउनुभयो । सो वडाको भुण, गोसेडा र शिरखोलीशैन क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरिएको छ । वडाको निर्णय अनुसार पटक–पटक सतर्क गराउँदा समेत अटेरी गर्ने दुइ जना अवैध मदिरा व्यवसायीबाट रु २० हजारका दरले रु ४० हजार नगद जरिवाना वडा कार्यालयमा राजश्व संकलन भएको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो ।

उक्त वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिसकिएकाले मदिरा कारोबार गर्नेलाई पहिलो पटकमा रु २० हजार, दोश्रो पटकमा रु ४० हजार र तेश्रो पटकमा कानुन बमोजिम कारवाही हुने र मदिरा सेवन गरी होहल्ला गर्नेलाई पहिलो पटक रु ५ हजार, दोश्रो पटकमा रु १० हजार र तेश्रो पटकमा कानुन बमोजिम कारवाही गर्ने वडाको निर्णय रहेको छ । समाजमा मदिरा प्रमुख समस्या रहेकाले वडा क्षेत्रमा मदिरा निषेध अभियानलाई सफल पार्न वडा अध्यक्ष खड्काले सबै सरोकारवालाहरुसँग सहयोगको अपील गर्नु भएको छ ।

स्थानीय तहमा जनप्रतिनिधी आईसकेपछि दिपायल सिलगढी नगरपालिकाको वडानं. ९ कलेनालाई पहिलो वडाका रुपमा गत वर्ष मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो भने दोश्रो वडाका रुपमा वडानं. १ लाई यस आर्थिक वर्षदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्लमा रहेका स्थानिय तहहरु धमाधम रुपमा मदिरा निषेधीत क्षेत्र घोषणा भएपनि लुकी छिपी अबैध मदिरा बिक्रि बितरण गर्नेहरुको भने बिगबिगी बढेको स्थानियबासीको आरोप छ । अबैध रुपमा मदिरा बिक्रि बितरण तथा ओसार पसार गर्नेलाई कानुनी कार्वाहि गर्नु पर्ने स्थानियबासीको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्