थुनुवा राख्ने ठाउँ नहुँदा प्रहरीलाई समस्या

भवन निर्माणकालागि पटक पटक माग गरेपनि सुनुवाई हुन नसकेको प्रहरीको गुनासो



विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपित पक्रिनु भन्दा थुनामा राख्ने समस्या हुदै आएको छ । सुदूरपश्चिममा रहेका नेपाल प्रहरीका अधिकांस प्रहरी चौकीहरुमा थुनुवा राख्ने कोठा नभएका कारण यो समस्या उत्पन्न भएको बताईएको छ ।

सशस्त्र द्धन्द्धको समयमा तत्कालीन बिद्रोहि पक्ष नेकपा माओबादीद्धारा भत्काईएका प्रहरी यहाँका अधिकांस चौकीहरु पुनः निर्माण नहुँदा तथा यहाँका ग्रामिण क्षेत्रमा रहेका प्रहरी चौकीका प्रहरीहरु स्थानियबासिका घर भाडामा लिई बस्दै आएको र त्यहाँ थुनुवा राख्ने कोठा नभएका कारण समस्या हुने गरेको प्रहरी कर्मचारीहरु बताउछन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेशमा शसस्त्र द्धन्द्धको समयमा भत्काईएका चार दर्जन बढी प्रहरी ईकाई हरुमा हालसम्म जम्मा १४ वटामात्र निमार्ण गरिएका छन् भने केही निर्माणको क्रममा रहेका छन् । द्धन्द्धको समयमा सुदूरपश्चिम भरीमा कम्तिमापनि तिन दजर्न प्रहरी कार्यालयहरु पूर्ण रुपमा ध्वस्त पारिएका थिए ।

पुनः निर्माण भएका प्रहरी चौकीहरुमा अछाममा ईलाका प्रहरी कार्यालय बयलपाटा, बिनायक,डोटीमा ईलाका प्रहरी कार्यालय बिपिनगर,प्रहरी चौकी बोगटान,डडेल्धुरामा प्रहरी चौकी पोखरा,कैलालीमा ईलाका प्रहरी कार्यालय फल्टुडे, ईलाका प्रहरी कार्यालय चौमाला,कन्चनपुरमा ईलाका प्रहरी कार्यालय झलारी,बैतडीमा ईलाका प्रहरी कार्यालय पाटन, ईलाका प्रहरी कार्यालय तस्सोदेही,बाजुरामा प्रहरीचौकी तिल्लिचौर,दार्चुलामा सिमा प्रहरी चौकी लाली, ईलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा बझाङ्गमा प्रहरी चौकी मेलबिसौना रहेका छन् । ठाउँ अभाबका कारण अधिकांस प्रहरी चौकीकका प्रहरीहरु थुनुवा लाई आफु संगै राखेर सुत्न बाध्य भएको डोटीका एकजना प्रहरी नवराज केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “थुनुवा राख्ने अलग्गै ठाउँ छैन,राती भागे भने आफुलाई समस्या पर्ने भएकाले थुनुवालाई संगै राखेर सुत्छौँ,सारै दुःख हुन्छ कहीले काही त ।” यति मात्र नभई यहाँका कतिपय प्रहरी चौकीका प्रहरी कर्मचारीहरु थुनुवा भाग्ने डरले रातभर जाग्राम बस्ने गरेको बताउछन् । “कहिलेकाही त प्रहरीको भन्दा आरोपित थुनुवाको संख्या बढी हुन्छ अनिहामीले चुप्पलागेर बस्नु पर्ने अबस्था आउछ” डोटीको घागल प्रहरी चौकीमा कार्यरत प्रहरी जवान केशब धामीले भन्नुभयो, “थुनुवा कुट्न नमिल्ने,बढी थुनुवा भएको दिन हल्ला गरेर रातभरी सुत्न दिन्नन,हाम्रो पिडा कस्ले सुन्ने न नेताले सुन्छन् नत हाम्रा हाकीमले नै ।” यतिमात्र नभई भाडामा लिएका अधिकाँस प्रहरी चौकीहरु खरले छाएका कारण सानो पानी पर्दा समेत चुहिने हुदा प्रहरीहरु पलाष्टिक तथा आफुले सरकारी स्केलमा पाएको पञ्चु ओडेर बस्न बाध्य भएका छन् ।

हिजो आज गाउँमा कुनै सञ्चारकर्मी,राजनैतिक दलका नेता,जिल्लाका हाकीम तथा मानबअधिकारबादी पुग्ने बित्तीकै अधिकांस प्रहरीहरु आफने पिडा सुनाउन आई हाल्ने गरेको जोरायल गाउँपालिका वडान. ५ गड्सेराका स्थानिय तथा शिक्षक प्रकाश रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा भएका प्रहरीलाई वास्तवमै पिडा छ तर उनिहरुको पिडाको बारेमा कसैले चासो देखाउदैन ।” गाउँमा मात्रै नभएर जिल्लामै पनि थुनुवा कोठाको अभाबमा प्रहरीलाई समस्या हुँदै आएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो प्रहरी भवन नयाँ निर्माणको प्रक्रियामा छ,हामी ऐअरपोटमा छौँ,यहाँ महिला थुनुवा राख्ने अलग कोठा छैन,समस्या हुँदै आएको छ ।” जिल्ला प्रहरी कार्यालय डोटीमा समेत प्रयाप्त मात्रामा थुनावा राख्ने कोठा नहुँदा समस्या हुदै आएको प्रहरी अधिकारीहरु बताउछन् । वर्षो पहिले निर्माण भएको पुरानो भवनमा रहेको एक महिला तथा एक पूरुष हिरासतमा कहिलेकाही कोचाकोच गरेर थुनावा राख्ने गरेको थुनुवा कमाण्डरहरु बताउछन् ।

जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माणकालागि पटक पटक माग गरेपनि कुनै सुनुवाई हुन नसकेको प्रहरीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्