सीटीईभीटी प्राविधिक शिक्षाको भरपर्दो आधार



पुष्करराज बुढाथोकी,

ध्यमिक शिक्षा परीक्षा (एसईई) पार गरेपछिको उच्च शिक्षा अध्ययन दुई धारमा छुट्टिन्छ– साधारण र प्राविधिक।

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपको इतिहास विसं १९९९ देखि शुरू भएको हो। पछिल्लो समय देशमा व्याप्त बेरोजगारीको अवस्था बढिरहेका बेला नेपालमा प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ।

अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाइ सकाएलगत्तै रोजगारी पाउने सम्भावना धेरै हुन्छ। एसईईसी गरेका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन प्राप्त शिक्षण संस्थाबाट प्राविधिक शिक्षा लिन सक्छन्।

सीटीईभीटीले आर्थिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्निकल एजुकेसन इन कम्युनिटी स्कुल (टेक्स) र निजी गरी चार वटा स्वरूपमा संस्था सञ्चालन गर्ने स्वीकृत दिएर प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ।

नेपालमा बेरोजगारीको संख्या दिनानुदिन बढिरहेको छ। विज्ञहरू भन्छन्– ‘देशको अहिलेको समग्र शिक्षा प्रणाली नै यस कुराको मुख्य कारक होे। यसै सन्दर्भमा एसईई दिएका र विभिन्न ग्रेड प्राप्त गरेका विद्यार्थी र उनीहरूको अभिभावकमा कहाँ पढ्ने, कुन विषय पढ्ने, पढाइ पछिको वृत्ति विकासलगायत विषयले कौतुहलता छाएको छ।

उनीहरूको मनमा कुन विषय पढे राम्रो जागिर पाइन्छ भन्ने सोच जाग्न थालेको छ। एसईईपछिको अध्ययन भविष्यतर्फको पहिलो महत्वपूर्ण खुड्किलो पनि हो।’

प्राविधिक शिक्षामा बढ्दो आकर्षण

प्राविधिक शिक्षालाई बोली खानेभन्दा गरी खाने शिक्षा भनिन्छ। पछिल्लो समय गरिएका विभिन्न तथ्यांकले पनि गरी खाने शिक्षाप्रति युवा पुस्तामा आकर्षण बढ्दै गएको देखाएको छ।

सीटीईभीटीको तथ्यांकअनुसार प्राविधिक शिक्षा र तालिम प्राप्त जनशक्तिको रोजगार दर ७० प्रतिशतभन्दा बढी छ।

सीटीईभीटीमा तीनवर्षे डिप्लोमा उत्तीर्ण गरेपछि राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा सरह)का लागि योग्य मानिन्छन्। तीनवर्षे डिप्लोमा प्रमाणपत्र तहका विविध कोर्षहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तहसरह मान्यता प्रदान गरेको छ। डिप्लोमा कोर्षहरू पूरा गरेका विद्यार्थीले स्नातक शिक्षा हासिल गर्न सक्छन्।

विद्यालय र विश्वविद्यालयमार्फत उच्च शिक्षा अध्ययन गर्नेहरूका लागि तहगत व्यवस्था भएजस्तै परिषद्अन्तर्गतका शिक्षालय तथा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई पनि उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर प्रदान गरेको परिषद्का निर्देशक प्रमोदभक्त आचार्यले बताउनुभयो।

‘वैदेशिक रोजगारका लागि बजार प्रवेश पाउन पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम एक सहज माध्यम बनेको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिहरूले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलब, रोजगार एवं स्वरोजगार भई आयस्तरमा वृद्धि एवं सहज जीवनयापन गर्न सहयोग पुग्छ।’ –उहाँले भन्नुभयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद््ले एसईई उत्र्तीणलाई ३ वर्षे डिप्लोमा÷प्रमाणपत्र तह र १८ महिने प्राविधिक एसएलसी कार्यक्रम सञ्चालन गर्दै आएको परिषद्का निर्देशक आचार्यले बताउनुभयो।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रमा कार्यरत प्रशिक्षक, व्यवस्थापक र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि परिषद्अन्तर्गत प्राविधिक प्रशिक्षण प्रतिष्ठानले कार्य गर्दै आएको छ। यसले वार्षिक ३ हजार व्यक्तिका लागि तालिम सञ्चालन गर्दै आएको पाइन्छ। त्यसै गरी विभिन्न प्राविधिक शिक्षालय तथा व्यावसायिक तालिम केन्द्रले वार्षिक करिव ६० हजारलाई छोटो अवधिका सीपमूलक तालिम प्रदान गर्दै आएका छन्। छोटो अवधिका सीपमूलक तालिम लिएका र परम्परागतरूपमा सिक्दै आएका सीपहरूलाई राष्ट्रिय सीप परीक्षण समितिबाट सीपको प्रमाणीकरण गरिँदै आएको छ।

सीटीईभीटीले आफ्ना कार्यक्रमलाई विस्तार गरी दुर्गमका सीमान्तकृत वर्गहरूसम्म प्राविधिक शिक्षाको पहुँच पुर्याउने नीति लिएको परिषद्का सदस्य–सचिव डा. पुष्परमण वाग्लेले जानकारी दिनुभयो। उहाँले कार्यक्रम विस्तारका लागि सामुदायिक विद्यालयमा तीनवर्षे डिप्लोमा र प्राविधिक एसएलसीका कक्षा सञ्चालनका लागि प्राथमिकता दिएको बताउनुभयो। उहाँले सीटीईभीटीअन्तर्गतका सबै कार्यक्रममा संस्था सञ्चालनका लागि सम्बन्धनको माग चर्कोरूपमा रहेको बताउनुभयो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कार्यक्रमलगायत समग्र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रममा पहुँच वृद्धिका लागि आंगिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, निजी र सहकारी स्वरूपमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको सदस्य–सचिव पुष्परमण वाग्ले बताउनुहुन्छ।
जनरल मेडिसिन
यसतर्फ मध्यमस्तरीय स्वास्थ्य जनस्तर शक्ति उत्पादन हुन्छ। यसलाई एचए पनि भनिन्छ। जनरल मेडिसिन पढ्नेको संख्या वर्षेनी बढ्दै गएको छ। यो विषय उत्तीर्ण गरेर स्वास्थ्य चौकी, स्वास्थ्यसम्बन्धी सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्यसम्बन्धी संघ–संस्थामा पनि रोजगारीको अवसर उत्तीकै हुन्छ। जनरल मेडिसिन उत्तीर्ण भएपछि स्वदेशी तथा विदेशी विश्व विद्यालयमा ब्याचलर अफ पब्लिक हेल्थ अध्ययन गर्न पाइन्छ। तर, एमबीबीएस अध्ययन गर्नका लागि ब्रिर्ज कोर्ष गर्नुुपर्छ।

नर्सिङ

सीटीईभीटीले उत्पादन गर्ने सबैभन्दा बढी जनशक्तिमा स्टार्फ नर्स पर्छ। उसले वर्षेनी ३ हजार ८ सय स्टाफ नर्स उत्पादन गर्छ। सीटीईभीटीअन्तर्गतको शिक्षालयमा अध्ययन गरेर स्टार्फ नर्स उत्तीर्ण भएपछि दुई वर्षको अनुभव लिएर स्नातक नर्सिङ अध्ययन गर्न योग्य मान्ने भएकाले पनि स्टार्फ नर्स अध्ययन गर्नेको संख्या वृद्धि भएको अनुमान गर्न सकिन्छ। यसको अलवा निजी क्षेत्रको अस्पताल बढ्दै गएपछि स्टाफ नर्सको माग बढेको छ। निजी तथा सरकारी स्वास्थ्य सेवा प्रदान गर्ने संस्था र अस्पतालमा पनि उत्तिकै यस्ता जनशक्तिको खपत हुन्छ।

मेडिकल ल्याब टेक्नोलोजी

सीटीईभीटीअन्तर्गतका ४३ शिक्षालयबाट वार्षिक १ हजार २ सय ९० जनशक्ति उत्पादन हुन्छ। सरकारी निजीस्तरमा क्लिनिक, अस्पतालमा पनि ल्याब असिसटेन्टका रूपमा जागिर पाइन्छ। हाल यसको माग बढी छ। हालसम्म कमै मात्र ल्याब टेक्निसियन उत्पादन भएका छन्।

डिप्लोमा इन रेडियोग्राफी

यो विषयको अध्यनपछि जिल्ला अस्पतालदेखि राष्ट्रियस्तरका अस्पतालसम्म रोजगारीको अवसर हुन्छ। निजी स्तरबाट सञ्चालित अस्पतालमा नर्सिङ होमहरूमा पनि यो तहको जनशक्तिको माग छ।

डिप्लोमा इन डेन्टल साइन्स

स्वास्थ्य मन्त्रालयले यस विषयअन्तर्गत सरकारी दरबन्दी सिर्जना नगरेको भन्दै बेला–बेलामा आन्दोलनसमेत भइरहने गरे पनि निजी स्तरमा सञ्चालित डेन्टल अस्पताल, क्लिनिकमा यो जनशक्तिको माग छ। डेन्टल साइन्स अध्यापन गराउने राजधानी र बाहिरी सहरमा गरी पाँच वटा शिक्षालय रहेको छ।

डिप्लोमा इन फार्मेसी

सरकारले नगरपालिका क्षेत्रमा रहेको औषधि पसलमा कार्यरत व्यक्ति कम्तीमा पनि डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको हुनुपर्ने नियम बनाएकाले हाल यसको माग बढ्दो छ। डिप्लोमा इन फार्मेसी उत्तीर्ण भएपछि बिफर्म अध्ययन गर्न पाइन्छ। रोजगारीका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न अस्पताल, औषधि व्यवस्था विभाग, औषधि कम्पनीमा जागिर पाइन्छ।

यसबाहेक आईएससीएजी (प्लान्ट साइन्स–एनिमल साइन्स), डिप्लोमा इन फुड÷डेरी टेक्नोलोजी, इन्जिनियरिङतर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ, डिप्लोमा इन सर्भे इन्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङलगायतका विधामा यहाँ पढ्न पाइन्छ।

भर्नाका मापदण्ड

टीएसएलसीका सम्पूर्ण कार्यक्रमका लागि ः एसएलसी वा एसईईमा जुनसुकै ग्रेड प्राप्त गरेको। प्रवीणता प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कार्यक्रमका लागि ः एसएलसी वा एसईई परीक्षाको अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम सी ग्रेड र जीपीए २ अंक प्राप्त गरेको।
डिप्लोमा इन्जिनियरिङ तर्फका सम्पूर्ण कार्यक्रमका लागि ः विज्ञान र गणितमा न्यूनतम सी ग्रेड र अंग्रेजीमा न्युनतम डी प्लस ग्रेड प्राप्त गरेको।

डिप्लोमा तहका कृषि फुड एन्ड डेरी टेक्नोलोजी र फरेस्ट्री कार्यक्रमका लागि ः अंग्रेजी गणित र विज्ञानमध्ये कुनै २ वटा विषयमा न्यूनतम सी ग्रेड र कुनै एकमा न्यूनतम डी प्लस ग्रेड प्राप्त गरेको।
डिप्लोमा इन होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट र सोसिएल वर्कका लागि अंग्रेजी विज्ञान र गणितमा न्यूनतम डि प्लस ग्रेड प्राप्त गरेको।

डिप्लोमा इन बायोमेडिकल इक्युपमेन्ट इन्जिनियरिङ (१८ महिने कार्यक्रमको लागि)ः विज्ञान विषय लिई दश जोड दुई उत्तीर्ण गरेको।

प्राविधिक धारबाट इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल र कम्प्युटर) मा एसएलसी वा एसईई उत्तीर्ण गर्न ः सम्बन्धित विषय वा कार्यक्रममै भर्ना हुन चाहेमा जीपीए १.६ ल्याएको हुनुपर्ने। इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल र कम्प्युटर) भन्दा फरक विषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पूरा हुनुपर्ने।

प्राविधिक धारबाट कृषि (प्लान्ट साइन्स वा एनिमल साइन्स)मा एसएलसी वा एसईई उत्तीर्ण गर्न ः सम्बन्धित विषय वा कार्यक्रममा कृषि (प्लान्ट साइन्स वा एनिमल साइन्स) मै भर्ना हुन चाहेमा जीपीए १.६ ल्याएको हुनुपर्ने। कृषिबाहेकका अन्य फरक विषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पूरा गरेको भए पुग्ने।

प्रतिक्रिया दिनुहोस्