खोटाङमा पहिलो पटक फुटबल लिग



रामधन राई, खोटाङ ।
खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सदस्यता प्राप्त गरेसँगै आगामी असार २ गतेदेखि पहिलो पटक आयोजना हुन लागेको लिग प्रतियोगिताको तयारी पुरा भएको हो ।

लामो प्रयत्न पश्चात एन्फाको सदस्यता प्राप्त गरेपछि आयोजना हुन लागेको लिगमा जिल्ला फुटबल संघमा आबद्द १० क्लबले सहभागिता जनाउने अध्यक्ष धु्रबबिक्रम राईले बताउनुभयो । जम्मा २१ खेल हुने लिग दिक्तेलबजारको माटिकोरे खेलमैदानमा असार ७ गतेसम्म सञ्चालन हुने अध्यक्ष राईको भनाई छ ।

जिल्लामा हुने ऐतिहासिक लिगको खेल तालिका तथा खेल हुने समय समेत सार्बजानिक गरिसकेको आयोजकले जनाएको छ । सार्बजानिक गरिएको खेल तालिका अनुसार हलेसी तुवाचुङ फुटबल क्लब र नमुना स्पोर्टस क्लबबीच पहिलो खेल हुने छ । यस्तै, सोल्मा स्पोर्टस क्लब र बुइपा ईलाभेन स्पोर्टस क्लब, भगवती स्पोर्टस क्लब खोटाङबजार र खोटाङ फुटबल एकेडेमी, बाक्सिला फुटबल क्लब र खारम्बु स्पोर्टस क्लब खार्मीबीच गरी पहिलो दिन चार खेल सञ्चालन गरिने छ ।

लिगको समुह (ए)मा भगवती स्पोर्टस क्लब, खोटाङ फुटबल एकेडेमी, हलेसी तुवाचुङ फुटबल क्लब, नमुना स्पोर्टस क्लब र नुन्थला स्पोर्टस क्लब रहेका छन् । लिगको समुह (बी) मा बाक्सिला फुटबल क्लब, खारम्बु स्पोर्ट्स क्लब, सोल्मा स्पोर्टस क्लब, बुइपा ईलाभेन स्पोर्टस क्लब र जन्तेढुंगा फुटबल क्लब रहेका छन् ।

समुह बिजेता बन्न सफल दुई समुह फाईनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमशः नगद २५ हजार रुपैंयाँ र १५ हजार रुपैंयाँको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रत्येक समुहमा २० जना खेलाडी र ५ जना अफिसियल रहनुपर्ने प्रावधान बनाईएको छ । खेलाडीहरु जिल्लाभित्रको मात्रै रहनुपर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्