अस्पतालको ‘लापर्वाहीका कारण’ डाक्टरको मृत्यु, नोबेल अस्पतालको व्यवहारप्रति परिवारको आपत्ति



सरोज यादव, विराटनगर ।
आफै सबारी चलाएर आफ्नो उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर जीवित फर्कन सकेनन् ।

पूर्व क्षेत्रकै चर्चित वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको ‘ब्रेनडेथ’ का कारण निधन भएको घोषणा गरिएपछि उनका आफन्तले ‘अस्पतालको चरम लापर्वाही’ भनेका छन् । मंगलबार निधन भएका अग्रवाल ४२ वर्षका हुनुहुन्थ्यो ।

अग्रवालको एन्जियोग्राफीपश्चात भएको स्वास्थ्यको प्रतिकूलतालाई लिएर चिकित्सक र आफन्तहरूले गम्भीर प्रश्न उठाएका हुन् ।
बैशाख २३ गते सोमबार देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल पुुग्नुभएको थियो । चिकित्सकको सल्लाह बमोजिम सामान्य उपचार गराएर फर्किनु भएका उहाँ पुनः भोलिपल्ट बैशाख २४ गते श्रीमतीका साथ अस्पताल पुुग्नुभयो ।

उहाँको एन्जियोग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीर रूपमा नलिइदिंदा उहाँको मृत्यु भएको भन्दै आफन्त रुष्ट बनेका छन् । उपचारकै क्रममा ब्रेनडेथ भएपछि कोमामा पुग्नुभएका डा. बिमलको मंगलबार राति १०.३० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पिटलमा निधन भएको हो ।

विमलका बाबु श्रावरमल अग्रवालका अनुसार एन्जियोग्राफी गराएपश्चात् ज्वरो आउन शुरु भएपछि उहाँलाई दुुखाइ कम गर्ने र निद्रा लाग्ने औषधी दिइएको थियो । औषधी व्यवसायी रहेका श्रावलमल औषधीको डोजले पूर्ण बेहोस भए पनि एन्जियोग्राफी गर्दा दिइएको औषधीले दिमागमा असर गरेको ठहर गर्नुहुन्छ ।

‘विमल बेहोश थियो । चिकित्सकलाई उनको नाजुक हालतको बारेमा जानकारी गराएँ,’ बुबा श्राबरलालले भन्नु भयो, ‘तर डाक्टरले त यस्तो बेला ३–४ घण्टापछि मात्र पनि होश आउनसक्छ भने । मङ्गलबारदेखि विमल उठेन । उसको मस्तिष्क डेथ भइसकेको चिकित्सकले बताए ।
विमलका सहकर्मी एवम् विराटनगर राउण्ड टेबल–११ का संस्थापक अध्यक्ष विकास बेगानीले चिकित्सकले चरम लापर्वाही गरेको आरोप लगाउनुभयो । ‘सामान्य स्वास्थ्य अवस्था भनेर हेलचेक्रेयाइँ गर्दा आज होनहार बालरोग विशेषज्ञले जीवन गुमाउनु परेको छ ।

२४ गते मंगलबार राती विराटनगरस्थित न्युरो अस्पतालका विशेषज्ञहरूको टोलीसहित भारतको मेदान्त अस्पतालका विशेषज्ञको टोलीले समेत उहाँको अवस्था हेरेको थियो । समयमै उहाँको अप्रेसन भएको भए जीवन जोखिममा नपर्ने चिकित्सकहरु बताउँछन् ।

डा.बिमलका मामा प्रमोद अग्रवालले यस घटनाको स्वतन्त्र छानविन गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मेरो भान्जाको त अस्पतालको लापरवाहीका कारण अकल्पनीय घटना भयो । तर, आगामी दिनमा मेरो भान्जाको जसरी कसैले पनि ज्यान गुमाउनु नपरोस् ।’

विमलको उपचारमा संलग्न नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर राजेश नेपालले यो दुर्लभ केस भएको प्रतिक्रिया दिनुभएको छ । किताबमा समेत १० हजार केसमा ३–४ ओटामा यस्तो समस्या आउने भन्दै हरप्रयास गर्दा पनि डाक्टर विमलको स्वास्थ्यलाई सामान्य अवस्थामा ल्याउन नसकिएको प्रतिक्रिया दिनुभयो ।

‘बाहिर आएको हल्लाजस्तो हाम्रो हेलचेक्र्याइँले यस्तो परिणाम आएको भने होइन । ’विमलको उपचारमा नेपालसहित न्युरो सर्जन डाक्टर डिल्ली काफ्ले र न्युरो फिजिसियन डाक्टर प्रकाश काफ्लेको टोली संलग्न रहेको विमलका ससुरा देवकी अग्रवालले जानकारी दिनुभयो ।
अग्रवालको बुधबार नै विराटनगरस्थित रेन्बोगल्लीमा रहेको अग्रवालको घरमा श्रद्धाञ्जलीपछि स्थानीय सिंगिया खोलामा अन्त्यष्टि गरिएको छ ।

विराटनगरका स्थानीय अग्रवाल विगत ६ वर्षदेखि कोशी अञ्चल अस्पतालमा कार्यरत हुनुहुन्थ्यो भने अन्य अस्पतालमा पनि बालरोग विशेषज्ञको सेवा दिदै आउनुभएको थियो । उहाँको निधनले बालरोग चिकित्सकीय सेवामा अपुरणीय क्षति पुगेको यस क्षेत्रका चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्