सरोज र कार्टुन क्र्युको फरक भिडियो



नृत्य समूह कार्टुन क्र्यु पहिलोपटक फरक किसिमको गीतको भिडियोमा देखिएको छ।

गायक सञ्जीव पराजुलीको नयाँ गीत सोचमाको भिडियोमा सरोज अधिकारीलाई बसको सहचालक र आश्मा विश्वकर्मालाई कलेजकी विद्यार्थीका रूपमा देखाइएको छ। सेन्टिमेन्टल फ्लेभरको गीत सुन्दा र दृश्य हेर्दा निकै आनन्द लाग्छ।

सरोजले फरक किसिमको गीतमा अभिनय गर्न पाउँदा नौलो अनुभव भएको बताए। ‘हामी प्रायः डान्सिङ नम्बरको गीतमा मात्र काम गथ्र्यौं। तर यसपटक अलिक फरक सेन्टिमेन्टल किसिमको गीतमा देखिएका छौंं। दर्शकका लागि यो नौलो स्वाद हुनेछ।’ –सरोजको भनाइ छ। गायक सञ्जीवले गीतले एकोहोरो प्रेममा परेको एक युवकको कथालाई समेटेको बताए। ‘मैले अहिलेसम्म बजारमा ल्याएका गीतभन्दा यो गीत केही हिसाबले फरक छ।’ –उनले भने।

गीतमा शब्द र संगीत कमल खत्रीको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन्। गीतको म्युजिक भिडियोमा कार्टुन क्र्युसँगै गायक सञ्जीवको पनि फिचरिङ गरिएको छ।

यसअघि सञ्जीव र कार्टुन क्र्युको सहकार्यमा नाइँ मलाई थाहा छैन बोलको गीतको म्युजिक भिडियो निकै चर्चित भएको थियो। भिडियोमा सरोजको निर्देशन तथा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन र लाक्पा डी लामाको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्