पौडीमा आर्मीलाई ९ स्वर्ण



कुमार श्रेष्ठ/कविरस शर्मा, बाँके
आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगञ्जमा जारी पौडीमा त्रिभुवन आर्मी क्लवले हालसम्म ९ स्वर्ण जितेको छ । सोमबार ८ स्पर्धा भएकोमा आर्मीले पाँच स्वर्ण जित्दै अग्रपंतिमा रहेको छ । प्रहरी, एपीएफ र एनआरएनले एक–एक स्वर्ण प्राप्त गरे । आर्मीकी गौरीका सिंहले दुई स्वर्ण जितिन् । उनले हालसम्म चार स्वर्ण जितिसकेकी छिन् । ४ सय मिटर महिला फ्रिस्टाइल र १ सय मिटर फ्रिस्टाइल विधामा गौरीकाले दुई स्वर्ण जितिन् । उनले ४ सय मिटर फ्रिस्टाइल ४ मिनेट ४४ सेकेन्डमा र १ सय मिटर फ्रिस्टाइल ५९ सेकेन्ड ६० पलमा निर्धारित दूरी पार गरिन् ।

५० मिटर बटरफ्लाई पुरुष पौडीमा नेपाल पुलिसका सायद हम्जा शाहले २७ सेकेन्डमा दूरी पार गरि राष्ट्रिय रेकर्ड तोड्दै स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको २७ सेकेन्ड १० पलको राष्ट्रिय रेकर्डलाई तोडेका हुन् । उक्त विधामा २७ सेकेन्ड २२ पलमा दूरी पार गरि आर्मीका अनुभव सुब्बाले रजत र एपीएफका तेन्जिङ नामडोल ¥यान गुरुङले कास्य पदक हात पारे । यसअघि अनुभवको नाममा २७ सेकेण्ड ७१ पलको कीर्तिमान थियो । यो कीर्तिमानलाई हम्जाले हिट चरणमा तोडेका थिए ।

५० मिटर बटरफ्लाई महिला पौडी तर्फ आर्मीकी सोफिया शाहले ३३ सेकेन्ड ५० पलमा दूरी पार गरि स्वर्ण हात पारिन् । पुलिसकी अनुसिया तुलाधरले ३४ सेकेन्ड ७५ पलमा दूरी पार गर्दै रजत र एपीएफकी श्रीवी महर्जन ३६ सेकेन्ड ६२ पलमा दूरी पार गर्दै कास्य पदकमा चित्त बुझाइन् ।

त्यस्तै २ सय मिटर ब्रेष्टस्ट्रोक महिला स्पर्धामा २ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै एपीएफका शुभम श्रेष्ठले स्वर्ण जित्दा पुलिसका दिपांकर अवालेले २ मिनेट ३७ सेकेन्डमा दूरी पार गरि रजत र प्रदेश १ का विकास कुमालले २ मिनेट ३९ सेकेन्डमा दूरी पार गरि कास्य जिते ।

२ सय मिटर ब्रेकस्ट्रोक महिलातर्फ आर्मीका दुवाना लामाले २ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण, ३ मिनेटमा दूरी पार गरेकी आर्मीकै उपास्ती महर्जन रजत र नेपाल पुलिसकी अदिप्सा बैद्यले ३ मिनेट ३ सेकेन्डमा दूरी पार गरि कास्य जिते ।

पुरुष एक सय मिटर फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले ५५.६३ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जिते । सोही स्पर्धामा पुलिसका सायद हम्जा शाहले ५५.९४ सेकेन्डमा दूरी पार गरि रजत र आर्मीका अनुभव सुब्बाले ५७.३० सेकेन्डमा दूरी पार गरि कास्य पदक हात पारे । सो १ सय मिटर फ्रिस्टाइलमा शिरीष गुरुङको ५७.०३ सेकेन्डको कीर्तिमान भंग भएको छ ।

प्रतिक्रिया दिनुहोस्