अब नागरिकतामा उपनाम पनि राख्न पाईने !


काठमाडौँ ।
कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो ।

थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा आजको बैठकले सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो । यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेस्रो लिङ्गीले पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जनाएको छ । महिला पुरुष नलेखी अन्य लेखेर नागरिकता लिँदा भने मान्यता प्राप्त चिकित्सकले प्रमाणित गरेको भने हुनुपर्नेछ ।

समितिले ऐन बने पनि नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिले नागरिकतामा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा नागरिकता जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्रुटी सच्याउन पाउने व्यवस्था गरेको छ ।

यसैगरी यसअघि नागरिकता प्राप्त गरिसकेको व्यक्तिको हकमा पनि ऐन जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्यस्ता त्रुटीसमेत सच्याउन सक्नेछन् । यस्तै नागरिकतामा हुन सक्ने सामान्य त्रुटीहरु वा आकार इकारमा फरक परेमा त्यस्ता समस्यामा पनि जुनसुकै समयमा सच्याउन सक्ने विषयमा समितिले सहमति जुटाएको छ ।

बहादुर, प्रसाद , नाथ, देवीजस्ता बीचको नाम जनाउने विषय बढी भए वा थप गर्नुपरे त्यस्ता समस्या सच्याउन सकिने निर्णय गरेको हो । समितिको बैठकमा नागरिकताका अन्य धेरै विषयमा छलफल भए पनि अन्य विषयमा समेत सहमति जुट्न सकेन ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।