रियल मेड्रिड बाहिरियो



लन्डन, (एजेन्सी)
गत तीन सिजन लगातार यूएफा च्याम्पियन्स लिगको च्याम्पियन बनेको रियल मेड्रिड प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा आयाक्स विरुद्ध लज्जास्पद हार व्यहोर्दै रियल च्याम्पियन्स लिगबाट बाहिरिएको हो । डच क्लब आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै ४–१ को जित दर्ता गरेपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । यसअघि आयाक्सको घरेलु मैदानमा भएको पहिलो लेग २–१ ले जिते पनि रियलले समग्रमा ५–३ को नतिजा सुम्पेको हो । जितपछि आयाक्स २२ वर्षपछि सो प्रतियोगिताको अन्तिम आठमा पुगेको छ ।

आयाक्सले खेलको सातौं मिनेटमा हाकिम जिएकको गोलमार्फत् अग्रता लिएको थियो । खेलको १८औं मिनेटमा डेभिड नेरेसले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारेका थिए । यस्तै टाडीचले ६२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गर्दै आयाक्सको गोलसंख्या तीन पु¥याए ।

लगातार चौथो च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा रहेको रियलले ७२ औं मिनेटमा मार्को एसेन्सियोको गोलसँगै खेलमा पुनरागमन गर्ने सम्भावना देखिएको थियो । तर त्यसको दुई मिनेटपछि नै लासे स्कोनेले फ्रिकिकमा दर्शनीय गोल गर्दै आयाक्सको जित पक्का गरे । खेलमा थपिएको इन्ज्युरी समयको तेस्रो मिनेटमा नाचोले रातो कार्ड बेहोरेपछि रियल १० जनामा खुम्चिएको थियो । खेलअवधिभर प्रतिबन्धमा रहेका डिफेन्डर सर्जियो रामोसको अभाव रियलमा खट्किएको थियो ।

रोनाल्डोविना अधुरो रियल
क्रिस्टियानो रोनाल्डोविना रियलको रियल खेल खस्किदै गएको स्पेनी संचार माध्यमले जनाएको थियो । रोनाल्डो २००९÷१० को सिजनमा रियलमा आबद्ध भए यता सो क्लबले १६ ट्रफी जितेको थियो । यसभन्दा अगाडि रियल अन्तिम १६ मै रोकिएको थियो । जब रोनाल्डो आए रियलले च्याम्पियन्स लिगमा चार उपाधि जित्यो भने उपाधि जित्न नसकेपनि रोनाल्डोको उपस्थितमा टोली कमसेकम सेमिफाइनल सम्म पुगेको थियो । तर रोनाल्डोले छाडेको यो सिजनमा रियल फेरि अन्तिम १६ बाटै विदा भयो । ।

टोटनह्याम क्वाटरफाइनलमा
ह्यारी केनको निर्णायक गोलमा इंग्लिश प्रिमियर लिग क्लब टोटनह्यामले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
लिगअन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमन्डलाई टोटेनह्यामले १–० ले हराएको हो । मंगलबार राति अवे मैदानमा भएको खेलमा विजयी भएसँगै समग्रमा ४–० को जित निकाल्दै टोटनह्याम क्वाटरफाइनल यात्रा निश्चित बनेको हो ।

टोटनह्यामको जितमा ह्यारी केनले दोस्रो हाफको सुरुवातमा गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो लेगमा ३–० को अग्रता लिएको टोटनह्यामलाई घरेलु टोली डर्टमन्डले पहिलो हाफमा निकै दवाबमा राखेको थियो । गोलरक्षक ह्युगो लोरिसले लगातार राम्रो बचाउ गर्दा खेलमा डटमन्डले अग्रता लिन सकेन । टोटनह्याम सन् २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्