आहा रारा गोल्डकपः थ्री स्टार फाइनलमा



कास्की ।
साविक उपविजेता थ्री स्टार क्लब पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलमा सशस्त्र प्रहरीको ‘एपिएफ क्लब’लाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरी थ्री स्टार उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खराब मौसमका कारण खेल अतिरिक्त समयमा नखेलाई सिधै पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो ।

पेनाल्टीमा थ्रीस्टारका रञ्जित धिमाल, सुनील बल, रुपेश केसी र अनन्त तामाङले गोल गरेका थिए । बुद्ध चेम्जोङको प्रहार गोलकिपर रोमन रसाइलीले रोक्न सफल भए । त्यस्तै एपिएफका लागि आशिष लामा र सन्तोष कटुवालले गोल गरेका थिए । सुदीप सिखाकारको प्रहार बारमा लागेर फर्किएको थियो । विकी लामाको प्रहार पोष्ट बाहिर गयो ।

खेलमा थ्रीस्टारका अनन्त तामाङले ‘म्यान अफ दी म्याच’ हुँदै ट्रफीसहित रु पाँच हजार प्राप्त गरे । प्रतियोगिताको अर्को सेमिफाइनल खेल बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी र क्यामरुनको डफिन्स एफसीबीच हुनेछ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेदेखि जारी प्रतियोगिताको फाइनल खेल यही फागुन १८ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्