थ्री स्टारको सहज जित



विजय नेपाली, पोखरा
पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा अनिल गुरुङ चम्किदा थ्रीस्टारले फराकिलो जित हात पारेको छ ।

पुर्व राष्ट्रिय खेलाडी गुरुङको ह्याट्रिकसंगै पाहुना टोलि युनाइटेड सिक्किमलाइ ५–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश ग¥यो । सोमबार भएको क्वाटरफाइनल खेलमा थ्रीस्टारलाई जित निकाल्न त्यति दुख भने गर्न परेन । खेलको पहिलो हाफमा पेनाल्टी मार्फत अग्रता लिएको थ्रीस्टारको लागि अग्रता दोब्बर पार्न दोस्रो हाफमा सिक्किमका जिग्मी दोर्जे भुटाइले आत्मघाती गोल गर्दै जित सहज बनाएका थिए ।

त्यस लगत्तै थ्रीस्टारले गोल थप्दै गयो । खेलको २६ र ८१औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका अनिलले ८५औ मिनेटमा मार्टिनले दिएको पासमा वान भर्सेस वानमा गोल गर्दै प्रतियोगिता कै पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । खेलको ५० औ मिनेटमा अनिलले गरेको प्रहारलाई सिक्किमका गोलरक्षक उर्गेन पिन्टोस शेर्पाले बचाउ गर्दा रिवाउन्ड भएको बल सिक्किमकै डिफेन्सलाइ लागि जाली चुम्न पुगेको थियो ।

त्यस्तै खेलको ७० औ मिनेटमा थ्रीस्टारका मार्टिनस कयोडेले वान भर्सेस वानमा उत्कृष्ट गोल गरेका थिए । सिक्किमको लागि खेलको ८९ औ मिनेटमा सोनाम छिरिङ शेर्पा र ९३ औ मिनेटमा ओङ छिरिङ लेप्चाले पेनाल्टी मार्फत सान्त्वना गोल गरे । जित संगै थ्रीस्टारका प्रशिक्षक मेघराज के.सिले पहिलो हाफमा पेनाल्टी पाउनु र आत्मघाती गोल पाउनु नै फराकिली जितको आधार भएको प्रतिक्रिया दिए ।

यो खेल प्रतियोगिताको सबै भन्दा बढी गोल भएको खेल हो । खेलको म्यान अफ दि म्याच अनिल घोषित भएर नगद पाँच हजार रुपैयाँ हात पारे ।

प्रतिक्रिया दिनुहोस्