म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुरु



प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दी तथा म्याग्दी तेक्वान्दो संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

आठौं राष्ट्रिय खेलकुद–२०७५ मा गण्डकी प्रदेशबाट सहभागिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको बताइएको छ । यसअघि पनि बेनीमा प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य विनोद केसीले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास गर्नका लागि आवश्यक पहल गरिरहेको बताएका छन् । उनले अन्तर्राष्ट्रियस्तरको आधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्ने तयारी गरिएको बताउँदै खेलकुद क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउन प्रदेश सरकार लागिपरेको बताए । स्थानीय तहमा खेलकुद क्षेत्रको विकास, विस्तार र व्यवस्थापन गर्न सरोकारवाला सबै लाग्नुपर्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले खेलकुदले व्यक्तित्व र नेतृत्वको विकासका साथै राष्ट्रको पहिचान गराउने भएकाले त्यसका लागि आवश्यक समन्वय र पहल गरिने बताए । पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले दक्ष खेलाडी उत्पादनका लागि निरन्तर रुपमा प्रशिक्षणको कार्यलाई जोड दिनुपर्ने बताएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलकुद क्षेत्रको विकास र खेलाडी प्रशिक्षणका लागि आवश्यक पूर्वाधार निर्माण र पर्याप्त बजेटको आवश्यकता रहेको बताए ।

आगामी तीन दिनसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशका ८ ओटा जिल्लाका झण्डै २ सयजना खेलाडीहरुले सहभागिता जनाएका छन् । उक्त प्रतियोगितामा महिला खेलाडीले ४६ केजीदेखि ७४ केजीसम्म र पुरुषको ५४ केजीदेखि ८० केजीमाथि समूहले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताबाट महिला ११ र पुरुष ११ गरी २२ जना खेलाडीहरु छनौट गरिने आयोजकले जनाएको छ । यसैबीच प्रतियोगितामा विद्युतीय प्रविधिद्वारा खेल सञ्चालन गरिने भएको छ भने म्याग्दीमा यो प्रविधि पहिलोपटक प्रयोगमा ल्याइएको हो ।

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको सञ्चालन र म्याग्दी तेक्वान्दो संघका अध्यक्ष नगेन्द्र केसीको स्वागतमा सम्पन्न भएको थियो ।

औपचारिक कार्यक्रम सुरु हुनुपूर्व विभिन्न जिल्लाबाट आएका खेलाडीहरु, म्याग्दी जिल्लास्थित सरोकारवाला, विद्यार्थी लगायतले नौमती पञ्चेबाजासहित बेनीबजारको परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्