आर्मी  रारा गोल्डकपकाे सेमिफाइनलमा



विजय नेपाली, पोखरा
पोखरामा जारी १७ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबलाइ हराउदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टिम बनेको छ ।

आइतबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ३–१ गोअन्तरले हराउदै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै आर्मीले जित हात पारेको हो । आर्मीको लागि तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

“हामीले पहिलो हाफमा खेल देखाउन सकेनौ, पहिलो हाफमा वान भर्सेस वानको अवसर समेत गुमाउन पुग्यौ“ जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेलेले प्रतिक्रिया दिए । केही समय अगाडि भुटानमा समेत खेलेर आएका खेलाडीले राम्रोसंग आराम नपाएको कारण सोचेजस्तो खेल्न नसकेको उनले बताए । “दोस्रो हाफमा हामिले कम्ब्याक ग¥यो, जस्ले गर्दा जित हात पारियो“–उनले भने ।

आर्मीको जितमा दुई गोल गरेका नवयुग श्रेष्ठ र एक गोल गरेका परिवर्तित खेलाडी प्रीन्स कार्की नायक बने । खेलको ७१ औ मिनेटमा हेड मार्फत गोल गरेका उनले खेलको ८० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ७१ औ मिनेटमा हिमालयनका ड्याड्री वाम्बा जुनियरले ह्यान्ड गर्दै फ्रीकिकको अवसर पाएको हो । आर्मीका सन्तोष तामाङले दिएको फ्रीकिक पासमा नवयुगले हेडमार्फत गोल गरे भने ८० औ मिनेटमा काउन्टर गोल गर्दै दुई गोल गरेका हुन् । खेलको ९१ औ मिनेटमा आर्मीका प्रीन्स कार्कीले थप एक गोल गर्दै आर्मीको जित सहज बनाएका हुन । आर्मीका भरत खवास एक्लैले लगेर गरेको प्रहारलाइ हिमालयनका गोलरक्षकले बचाउ गर्दा रिवाउन्ड भएको बललाइ कार्कीले प्रहार गर्दै बललाइ जाली चुमाए ।

खेलको २६ औ मिनेटमा हिमालयनका प्याट्रीक गोहाले हेड गोल गर्दै अग्रता दिलाएका हुन । त्रिदेव गुरुङ्गले दिएको क्रसपासमा गोहाले फस्टबार च्याप्दै हेडगोल गरे । पहिलो हाफमा अग्रता लिएको हिमालयनले दोस्रो हाफमा सम्हालिन नसक्दा हार व्यहोर्नु वाध्य भएको हो । खेलको म्यान अफ दि म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए उनले नगद पाँच हजार रुपैयाका साथमा ट्रफी हात पारे ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलिले निकै आक्रमक खेल खेले पनि थप गोल भने गर्न सकेनन । खेलको १३ औ मिनेटमा आर्मीका टंक बस्नेतले दिएको काउन्टर पासमा सन्तोष तामाङले सेकेन्ड बार च्याप्दै गरेको प्रहारलाइ हिमालयनका गोलरक्षक किशोर गिरिले बचाउ गरे ।

खेलको २१ औ मिनेटमा हिमालयनका प्याट्रीक गोहाले गरेको प्रहारलाइ आर्मीका गोलरक्षक विकेश कुथुले विफल पारिदिए । खेलको ३४ औ मिनेटमा आर्मिका सन्तोष तामाङले गरेको कडा प्रहार हिमालयनका गोलरक्षक गिरिले उत्कृष्ट बचाउ गरे । पहिलो हाफको थप गरिएको ३ मिनेटमा टकं बस्नेतले गरेको लामो प्रहारलाइ हिमालयनका गोलरक्षक डिबक्स भन्दा अघि बढी क्लियर पारिदिए ।

हार सङ्गै हिमालयनका व्यवस्थापक विजेन्द्र पुडासैनीले खेलाडिको खेल प्रती सन्तुष्टि रहेको प्रतिक्रिया दिए । “आर्मी बलियो प्रतिद्वन्द्वी हो, हामीले अग्रता लिए पनि जोगाउन सकेनौ“ उनले भने । आर्मीले काउन्टर अट्याक गर्नुनै दुर्भाग्यपूर्ण भएको उनले बताए ।प्रतियोगिता अन्तर्गत सोमबार रुस्लान थ्रीस्टार क्लब र युनाइटेड सिक्किम फुटबल क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्