अफगानिस्तानको टी२० मा कीर्तिमान



 

लन्डन, (एजेन्सी)

अफगानिस्तानले आयरल्यान्डविरुद्धको ३ खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज २–० को अग्रतासँगै हासिल गर्दा कीर्तिमान समेत रचेको छ ।

अफगानिस्तानले टी२० अन्तर्राष्ट्रियमा २ सय ७८ रनको सर्वाधिक योगफलको कीर्तिमान बनायो । यसको जवाफमा आयरल्यान्ड १ सय ९४ रनमा समेटिएपछि अफगान टोली ८४ रनले जितेको थियो । अफगानिस्तानले अस्टे«लियाले सन् २०१६ मा श्रीलंकाविरुद्ध बनाएको २ सय ६३ रनकोे कीर्तिमानी योगफललाई पछि पारेको होे ।

टोलीको कीर्तिमानी योगफल बन्दा ओपनर हजरतुल्लाह जाजई एक्लैले १ सय ६२ रन बनाए । तर उनी टी२० अन्तर्राष्ट्रियमा अस्टे«लियाका आरोन फिन्चले बनाएको व्यक्तिगत उच्चतम रन १ सय ७२ लाई पार गर्न चुके । तर उनले फिन्चले एउटै खेलमा १४ छक्का प्रहार गरेको कीर्तिमानलाई भने पछाडि पार्न सफल भए ।

जाजईले ६२ बलमा ११ चौका र १६ छक्का प्रहार गरेका थिए । उनले उस्मान गनी (७३) सँग पहिलो विकेटका लागि २ सय ३६ रनको साझेदारी गरे । जुन टी २० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटमा बनेको नयाँ कीर्तिमान हो । यसअघि अस्टे«लियाका फिन्च र आर्शी शार्टले सन् २०१८ मा जिम्बावेविरुद्ध पहिलो विकेटका लागि २ सय २३ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

यसैगरी सो खेलमा अफगानिस्तानले सर्वाधिक छक्का प्रहार गर्नेमा पनि नयाँ कीर्तिमान राख्यो । टोलीले एउटै खेलमा २२ छक्का प्रहार गरेर भारत र वेस्ट इन्डिजले समान २१ छक्का प्रहार गरेको कीर्तिमानलाई ओझेलमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्