पिंकाथनमा कान्छीको ह्याट्रिक



 

काठमाडौं, (नेस)
पिंकाथन काठमाडौंको तेस्रो संस्करणको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् ।

यसपटक पनि मुख्य प्रतिस्पर्धा हाफ म्याराथनमा कोजु विजयी हुँदै लगातार तेस्रो पटक उपाधि जितेर प्रतियोगितामा ह्याट्रिक गरेकी हुन् । यसअघिका दुई प्रतियोगितामा पनि कोजुले नै उपाधि जितेकी थिइन् । एपीएफकी धाविका कोजुले निर्धारित दूरी १ घण्टा २१ मिनेट ४४ सेकेन्डमा सकाइन् ।

सोे स्पर्धामा नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् भने एपीएफकी पुष्पा भण्डारी तेस्रो भईन् । शीर्ष तीनले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार हात पारे ।

यसैगरी १० किलोमिटरतर्फ एपीएफकी सन्तोषी श्रेष्ठ पहिलो हुँदा चन्द्रा राउत दोस्रो तथा सरस्वती कडायत तेस्रो भए । विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार नगद पुरस्कार हात पारे । ५ किलोमिटरतर्फ सामना कार्कीले प्रथम हुँदै ११ हजार नगद पुरस्कार जितिन् । यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो भईन् ।

३ किलोमिटर दौडमा सानुका थापा प्रथम हुँदा स्वस्तीका श्रेष्ठ दोस्रो तथा प्रतिमा कार्की तेस्रो भए । विजेता खेलाडीलाइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड सुपर मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठलगायतका अतिथीले पुरस्कार वितरण गर्नुभयो ।

महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिंकाथन अभियान सुरु गरेका हुन् । भारतको सबैभन्दा ठूलो महिला दौड प्रतियोगिता पिंकाथन विगत तीन वर्षदेखि नेपालमा पनि भइरहेको छ ।

पिंकाथन काठमाडौंको यो तेस्रो संस्करणमा झण्डै २५ सय महिला सहभागी भएको आयोजक संस्था लेजर पोर्ट नेपालका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्