डीपीएलमा अत्तरिया च्याम्पियन, सुनको जुत्ता दीपेन्द्रलाई



धनगढी, (नेस)
धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको उपाधि सीवाईसी अत्तरियाले हात पारेको छ ।

शनिबार धनगढीको फाप्ला मैदानमा भएको फाइनल खेलमा अत्तरियाले घरेलु टोली महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराएको हो । योसँगै पहिलो पटक फाइनल पुगेको अत्तरियाले उपाधि समेत जित्यो । विजेता र उपविजेता टोलीले क्रमशः ३० लाख र १२ लाख नगद पुरस्कार हात पारेका छन् ।


महेन्द्रनगरले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २३ रन जोडेको थियो । टोलीका लागि ओपनर तथा विकेटकिपर ब्याटसम्यान दिलीप नाथले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । बलिङमा अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । त्यस्तै दिपेन्द्र राउतले २ तथा सन्नी पटेल एक विकेट लिए ।

१ सय २४ रनको लक्ष्य अत्तरियाले ७ विकेट गुमाएर १ बल बाँकी राखेर भेटाएको थियो । टोलीका लागि सन्नी पटेलले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै नटआउट भएर ४७ रन बनाएका थिए । उनी प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित हुँदै २ लाख नगद हासिल गरे । भारतीय क्रिकेटरले ६ खेलमा कूल २ सय २ रन बटुल्नुका साथै बलिङमा ९ विकेट लिएका थिए । साथै उनले बेस्ट ब्याटसम्यान समेत बन्दै थप १ लाख पनि पाएका थिए ।

यस्तै अत्तरियाका कप्तान दिपेन्द्र मोस्ट भ्यालुबेल प्लेयर घोषित भए । उनले यस बापत सुनको जुत्ता प्राप्त गरेका थिए । उनले प्रतियोगितामा ७ खेल खेल्दै कूल १ सय ६८ रन बनाए भने १० विकेट पनि हासिल गरेका थिए । फाइनल खेलमा उनले १७ रन मात्रै जोड्न सके । प्रतियोगितामा भुवन कार्कीले ७ खेलमा १४ विकेट लिएर उत्कृष्ट बलर सावित भए । उनले १ लाख नगद हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्