बार्सिलोना बराबरीमा रोकियो



लन्डन, (एजेन्सी)
यूएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना फ्रेन्च क्लब लियोनसँग बराबरीमा रोकिएको छ ।
मंगलबार राति अवे मैदानमा भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो । लियोनल मेसी, लुइस स्वारेज सहितको बार्सिलोनाको बलियो टोलीलाई लियोनले बराबरीमा रोक्न सफल रह्यो ।

६३ प्रतिशत बल पोजिसन र २५ प्रहार गरेपनि बार्सिलोना जित निकाल्न असफल रह्यो । बार्सिलोनाका स्टार खेलाडीहरु लियोनल मेसी, लुइस सुअरेज, फिलिप काउटिन्होको प्रहार लियोनका गोलकिपर एन्टोनी लोपेजले बचाएका थिए ।

च्याम्पियन्स लिगका पछिल्ला ६ अवे नकआउट म्याचमा बार्सिलोनाले जित हात पार्न सकेको छैन । ६ मध्ये ४ खेलमा हार र दुई खेल बराबरीको नतिजा निकालेको बार्सिलोनाले ५ खेलमा गोल गर्न सकेको छैन । यी दुई टोलीबीच दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा मार्च १३ मा हुनेछ ।

लिभरपुल र वायर्न पनि बराबरीमा

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बार्यन म्युनिखले पनि बराबरी खेलेका छन् ।

मंगलबार राति लिभरपुलको मैदानमा भएको खेलमा लिभरपुल र बार्यन म्युनिखले गोलरहित बराबरी खेलेका हुन् । अवे मैदानमा बार्यनले बल नियन्त्रणमा पकड बनाएपनि गोल भने गर्न सकेन । बल नियन्त्रण गुमाएको लिभरपुलले आक्रमण धेरै गरेको थियो । तर, लिभरपुलका आक्रमण बार्यनको बलियो डिफेन्सले निस्तेज पारेका थिए ।

लिभरपुलले घरेलु मैदानमा पाएको मौकालाई गोल गर्न नसक्दा दोस्रो लेग कठिन बन्ने देखिएको छ । यस सिजन समूह चरणमा खेलेका तीन वटै अवे खेलमा लिभरपुल पराजित भएको थियो । लिभरपुल अवे मैदानमा नेपोलीसँग १–० ले, रेड स्टार बेलग्रेडसँग २–० ले र पेरिस सेन्ट जर्मनेसँग २–१ ले पराजित भएको थियो ।

उता वायर्नले च्याम्पियन्स लिगमा घरेलु मैदानमा खेलेका २६ मध्ये २ खेल मात्र हारेको छ। दोस्रो लेग मार्च १३ मा वायर्नको मैदान एलिएन्ज एरेनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्