क्रिकेट टोलीको भव्य स्वागत



काठमाडौं, (नेस)
संयुक्त अरब इमिरेट्मा ऐतिहासिक एकदिवसीय तथा टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला समान २–१ ले जितेर स्वदेश फर्केको नेपाली क्रिकेट टोलीको भव्य स्वागत भएको छ ।

सोमबार नेपाल फर्केको नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकर्मी खेल पदाधिकारी र समर्थकको घुँइचो थियो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले स्वागत गरेका हुन् ।
नेपाली टोलीलाई रातो कार्पेट र फुलमालाले स्वागत गरिएको थियो ।

त्यस्तै विमानस्थलमै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खेलाडी तथा पदाधिकारीलाई सम्मानस्वरुप जनही १०–१० हजार रुपैयाँ पनि प्रदान गरे । नेपालले नेपाली क्रिकेटको इतिहासमा एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) क्रिकेट शृंखला पहिलो पटक जित्यो । यसअघि नेदरल्यान्डस्मा खेलेको २ खेलको वानडे शृंखला १–१ बराबरीमा सकिएको थियो ।

क्रिकेटको सफलताले राज्यलाई अहिले ठूलै दवाव आएको छ । नेपालले बाहिर गएर खेल्नु मात्र हुन्छ । यदि नेपालमै बाहिरको टोली ल्याएर खेलाउने हो भने राज्यले भौतिक संरचनादेखि सबै विषयमा ध्यान दिनु पर्छ । यसको लागि राज्यले यहाँ अन्तर्राष्ट्रिय स्तरको एउटा रंगशाला बनाउनु पर्ने नै भएको छ । खेलाडीहरुलाई भव्य स्वागत गरेर पुरस्कार बाँड्ने अनि सरकार यसपछि मौन भएमा क्रिकेटले पाएको सफलता गुम्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्