‘बालोन डि ओर’ जित्ने पहिलो महिला



ओस्लो, (एजेन्सी)
नर्वेकी एडा हेगरबर्गले केही साता अघि क्रोएसियाली स्टार फुटबलर लुका मोड्रिचसँगै ‘बालोन डि ओर अवार्ड’ जित्न सफल भईन् । विश्व फुटबलको प्रतिष्ठित बालोन डी ओर अवार्ड अन्तर्गत महिलातर्फ पहिलो पटक सो अवार्ड प्रदान गरिएको थियो । उक्त अवार्डको ६२ वर्षको ईतिहासमा पहिलो पटक महिला तर्फ पनि उत्कृष्ट हुनेलाई पनि सो अवार्ड प्रदान गरिएको हो । जसमा एडाले आफ्नो नाम लेखाउन सफल भईन् । गत सिजन ३३ गोल गर्दै उनी फ्रेन्च लिगको सर्वाधिक गोलकर्ता समेत बनेकी थिईन् ।

पुरुषको तुलनामा महिला फुटबलरको नाम छायांमा नै पर्ने गरेको छ । तर फ्रान्स फुटबलले महिलालाई पनि प्रोत्साहन गर्ने मनसायले यस पटकदेखि सो अवार्ड महिलालाई पनि प्रदान गरिएको हो । बालोन डि ओर अवार्ड जित्ने पहिलो महिला फुटबलर एडालाई अर्जेन्टिनी चर्चित खेलाडी लियोनल मेसीसंग तुलना गरिन्छ । उनलाई महिला मेसी समेत भन्ने गरिन्छ । मैदानमा उनको ड्रिब्लिंग गर्ने क्षमताका कारण उनलाई लियोनल मेसीसँग तुलना गरिएको हो । मेसीले झैँ उनी मैदानको मध्य भागदेखि बललाई तीब्र गतिमा ड्रिब्लिंग गर्दै प्रतिद्वन्दीको गोलपोष्ट वरिपरिसम्म पु¥याउन सिपालु छन् ।

नर्वेकी एडा हेगरबर्गले आफ्नो गोलसंख्या र प्रदर्शनका कारण किर्तिमान समेत बनाएकी छन् । उनको अद्भुत प्रदर्शनको सहयोगमा फ्रेन्च क्लब लियोन लगातार तीन पटक च्याम्पियन्स लिग विजेता बनिसकेको छ । यो बाहेक लियोनले चार पटक फ्रेन्च च्याम्पियनशिप र तीन पटक फ्रेन्च कप उपाधि जित्दा उनको योगदान महत्वपूर्ण बनेको थियो ।

एडाका केही महत्वपूर्ण उपलब्धि 
वर्ष पुरस्कार
२०१८ बालोन डि ओर अवार्ड
२०१७ बीबीसी आमेन्स फुटबलर अफ द ईयर
२०१६ यूइएफा बेस्ट वोमेन्स फुटबलर अफ दि ईयर
२०१६ नर्वे स्पोर्ट्सपर्सन अफ द ईयर

नर्वेको सानो शहर मोल्डेमा १० जुलाई १९९५ मा जन्मेकी एडा तीन भाई बहिनीमध्ये सबैभन्दा कान्छी हुन् । उनका पिता स्टेन एरिक हेगरबर्ग र आमा गर्ड स्टोल्स्मो पनि आफ्नो समयका ब्यवसायिक खेलाडी थिए । एडाभन्दा दुई वर्ष जेठी दिदी एन्ड्रिनले पनि फुटबलर हुन् । एडाले पनि आफ्नो बाल्यकालमा फुटबल बाहेक अन्य खेलहरु खेलेका थिए । तर आफ्नो दिदीबाट प्रभावित भएर उनले फुटबल खेल्न शुरू गरेकी हुन् ।


१५ वर्षको उमेरमा एडाले ब्यवसायिक करियरको शुरूवात गरेकी हुन् । उनको पहिलो क्लब नर्वेको कोलबोत्न थियो । उनकी दिदीले पनि सोही क्लबबाट खेलेकी थिईन् । एडाले एक सिजनका लागि मात्र उक्त क्लबबाट खेलेकी थिईन् । जहाँ उनले ३० म्याचमा १५ गोल गरिन । उनले १६ वर्षको उमेरमा कोलबोत्नबाट खेल्दै रोआविरुद्ध ह्याट्रिक गरेकी थिईन् । त्यतिबेला उनी नर्वेमा सबैभन्दा कम उमेरमा ह्याट्रिक गर्ने पहिलो महिला खेलाडी समेत बनिन् ।

सन् २०१२ मा एडा र उनकी दिदी स्टाबेक क्लबमा आबद्ध भएका थिए । यी दुवै जनाले खेलेको उक्त क्लबले नर्वे कपको उपाधि उचालेको थियो । २५ गोल गर्दै एडा लिगको सर्वाधिक गोलकर्ता समेत बनेकी थिईन । उनी ‘योन्ग प्लेयर अफ द ईयर’ समेत चुनिइन् । त्यसपछि सन् २०१३ मा एडा र उनका दिदी टर्बाइन पोट्सडेम क्लबमा अनुबन्धित भएकी थिईन् ।


एडाले शुरूवातको पाँच वर्ष तीन भिन्न क्लबबाट खेलेका थिए । एडाको शानदार प्रदर्शनका कारण फ्रान्स फुटबल क्लब लियोनले सन् २०१४ उनीसँग सम्झौता गरेका थिए । यस्तै उनको दिदी भने हाल उनको दिदी पेरिस सेन्ट जर्मेनबाट खेल्ने गर्छिन् । लियोनमा एडाले पहिलो सिजनमा नै २२ म्याचमा २६ गोल गर्दै आफूलाई अब्बल सावित गर्न कुनै कसर बांकी राखेनन् । उनले लियोनलाई लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

उनी सन् २०११ देखि नर्वे टीममा सामेल छन् । लियोनमा उनले ६६ म्याचमा ३८ गोल गरेका छन् । एडा सन् २०११ मा यूएफा यूरोपियन अन्डर–१९ टूर्नामेन्टको फाइनलमा पुगेको नर्वे टीमका एक महत्वपूर्ण सदस्य समेत हुन् । एडाले आफ्नो ९ वर्षको करियरमा ३ सय गोल गरिसकेका छन् । उनले गत सिजन सबैखाले टूर्नामेन्टमा गरी कुल ५३ गोल गरेका थिए ।


एडा हाल विश्व महिला फुटबल एम्बेसडर समेत हुन् । उनी विश्वभरि महिला फुटबलको प्रवद्र्धनको क्षेत्रमा कार्यरत छिन् । यति हुदां–हुदै पनि २३ वर्षीया एडाले आगामी वर्ष फ्रान्समा आयोजना हुने फिफा महिला विश्वकपमा नखेल्ने निर्णय गरेकी छन् । यतिमात्र होइन, खेलमा महिलामाथि हुने गरेको भेदभावका कारण उनले गत वर्षदेखि नर्वेबाट कुनै म्याच खेलेका छैनन् ।

सोही कारणले नै एडाले आगामी वर्ष फ्रान्समा हुने फीफा महिला फिफा विश्वकपमा समेत नखेल्ने निर्णय गरेकी हुन् ।

एडा फुटबल बाहेक बास्केटबल र टेनिसमा पनि रुचि राख्छन् । एडाले गत वर्ष नर्वेका फुटबलर थोमस रोगनेसँग आंैठी साटिसकेकी छन् । दुवै जना चाडै नै विवाह बन्धनमा बाधिदै छन् ।

 

प्रतिक्रिया दिनुहोस्