४ दशकपछि चेसमा अमेरिकी ग्रान्डमास्टर



-कविरस शर्मा
पछिल्लो पटक वल्र्ड चेस च्याम्पियनशिपमा अमेरिकाको प्रतिनिधित्व गर्ने बबी फिशर हुन् । उनले सन् १९७२ मा अमेरिकाबाट खेलेका थिए । करिब साढे चार दशकपछि वल्र्ड चेस च्याम्पियनशिपमा पुनः एक अमेरिकी खेलाडी देखा परेका छन् । यो कुराले विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा स्थान पाइरहेको छ । सन् १९७२ मा बबी फिशर विश्व च्याम्पियन बनेयता पहिलो पटक कुनै अमेरिकी खेलाडीले वल्र्ड चेस च्याम्पियशिपमा खेलेका छन् । उनी हुन् २६ वर्षीय फाबियानो लुगी कारूआना ।

गत बुधबार राति वल्र्ड चेस च्याम्पियनसिप लन्डनमा सम्पन्न भयो । जसमा हाल विश्व चेस वरियताको शीर्ष स्थानमा रहेको नर्वेका मेग्नस कार्लसनले बाजी मा¥यो । योसंगै उनले चौथो पटक विश्व चेस च्याम्पियनसिपको उपाधि हात पारे । तर फाबियानोलाई हराउन भने उनलाई त्यति सहज भएन । कार्लसनले फाबियानोलाई हराउन टाईब्रेकरको सहारा लिनु परेको थियो ।

बितेका २० दिनभित्र १५ खेलपछि कार्लसनले उक्त जित दर्ता गरेका हुन् । खेल विजेताको निर्णयका लागि १२ म्याचसम्म खेलाइएको थियो । विजेताको टुंगो लगाउन प्रतियोगिताको १ सय ३२ वर्षको ईतिहासमा १२ म्याच खेलाइएको यो नै पहिलो पटक पनि बन्यो । तर ती सबै खेल बराबरीमा नै टुंिगएपछि खेल ¥यापिड प्ले फोम्र्याट पद्धति अनुसार टाईब्रेकरसम्म लम्बिएको थियो ।

जसमा थप ४ म्याच निर्धारण गरिएको थियो । तर निर्धारित ४ मध्ये ३ म्याच कार्लसनले २५ मिनेट भित्र जित्दै च्याम्पियन बने । उनले बितेका तीन साताभित्र जितका १५ खेलमा ७ सय चाल चल्न ५१ घन्टा खर्चनु परेका थिए । चौथो पटक च्याम्पियन बनेका कार्लसनलाई यसअघिका भन्दा हाल विश्व वरियताको दोस्रो स्थानका फाबियानोले निक्कै कठिन चुनौती प्रस्तुत गरेका थिए ।

उनै फाबियानो चार दशकपछि विश्व चेस च्याम्पियनसिपमा खेलेको पहिलो अमेरिकी कसरी चेस खेलाडी बन्यो भन्ने कथा कम रोचक भने छैन । निक्कै चञ्चले स्वभावका कारण फाबियानोले पढाईमा मन लगाउँदैनथे । फाबियानो ५ वर्षको छँदा नै उनको आमा सेन्टीनाले उनलाई चेसको कक्षामा भर्ना गरेका थिए । ग्रान्डमास्टर बनाउने उद्देश्यले सेन्टीनाले आफ्नो छोरालाई चेसको कक्षामा भर्ना गरेकी भने होइन । चेस खेलेर सोच्ने क्षमता बढ्ला कि भनेर उनले त्यसो गरेकी थिईन् । जसका कारण छोराले पढाईमा मन लगाउँछ की भनेर उनले ठानेकी थिईन । आमाको उपायले फाबियानोलाई असर त ग¥यो नै साथमा भविष्यमा चेसको दुनियांमा एक जना सुपरस्टारको पनि जन्म भयो ।


हाल विश्व चेस च्याम्पियनसिपमा अमेरिकाको प्रतिनिधित्व गरेका फाबियानोसँग अमेरिकाका साथै इटालीको पनि नागरिकता थियो । उनको जन्म अमेरिकाको मायमीमा भएको हो । तर फाबियानोका आमा भने इटालियन मूलकी हुन् । अमेरिका अघि उनले इटालीबाट पनि खेलेका थिए । सन् २००५ देखि २०१५ सम्म फाबियानोले इटालीको प्रधिनिधित्व गरेर चेसको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलेका थिए । त्यसपछि भने उनी अझै राम्रो मौकाको खोजीमा पुनःअमेरिकामा नै पुगेका हुन् ।

सन् २००७ मा उनी १४ वर्ष ११ महिना र २० दिनको हुंदा चेसको ग्रान्डमास्टर बनेका हुन् । त्यस अघि उनी १२ वर्षको छंदा उनका अभिभावकले उनलाई विधालयबाट निकाल्ने निर्णय गरेका थिए । सुरुमा पढाइमा मन लगाउन चेस रोजेका अभिभावकले पछि चेसमानै धेरै भन्दा धेरै समय ध्यान दिन सकोस् भनेर त्यस्तो निर्णय गरेका थिए । चेसमा अझ राम्रो गर्न सकियोस भनेर त्यसपछि उनलाई स्पेन पनि पठाएका थिए ।


फाबियानोको अहिलेसम्मकै उच्च पिक रेटिंग २८४४ छ । अहिले उनको फिडे रेटिंग २८३२ रहेको छ । फाबियानो चार पटक इटालियन र एक पटक अमेरिकाको राष्ट्रिय च्याम्पियन बनेका छन् । सन् २०१६ मा उनी अमेरिकन चेस च्याम्पियन बनेका हुन् । ४२ औं चेस ओलम्पियादमा ब्यक्तिगत तर्फ कांश्य पदक जितेका उनले टिम इभेन्ट्सतर्फ भने स्वर्ण जितेका थिए ।

यस्तै २०१७ मा सम्पन्न लन्डन चेस क्लासिकमा फाबियानो च्याम्यिन बनेका थिए । यसै वर्ष सम्पन्न क्यान्डिडेट्स टूर्नामेन्ट जितेपछि उनी विश्वस्तरको चेस च्याम्पियनसिपको उपाधि जित्ने बबी फिशरपछि पहिलो अपराजित अमेरिकी खेलाडी समेत बनेका छन् । उनले पांचौ ग्रेन्के चेस क्लासिक, छैंटो नर्वे चेस, सिन्क्वीफिल्ड कप जस्ता विश्वस्तरका चेस प्रतियोगिताको उपाधि पनि जितेका छन् ।

चेस बाहेक फाबियानोले अन्य खेलमा पनि हात हालेका थिए । उनले पौडी र स्क्वाश पनि खेलेका छन् । फाबियानोले पौडी प्रतियोगिताहरु पनि खेलेका थिए । राज्यस्तरको जूनियर स्विमिंग च्याम्पियनशिपमा विजेता समेत भएका उनी त्यसपछि स्क्वाशतिर ढल्किए । तर उनको ध्यान भने पहिलो प्रेम चेसतिर नै तानियो । अहिले उनी फिट रहन योग र हिपहप डान्स पनि गर्दैछन् । योगको मद्दतबाट आफ्नो दिमागलाई एकाग्र र शरीरलाई स्वस्थ राख्न सहयोग मिलेको फाबियानोले विभिन्न सञ्चार माध्यममा बताउंदै आएका छन् ।

खेलकूद मात्र होईन, फाबियानो एक फिल्म मेकर पनि हुन् । उनले स्क्रिन लेखनको कोर्स पनि गरेका छन् । उनी आफूलाई क्वेन्टीन टेरेन्टीनो, डेभिड लिन्च, गुलिर्मो डेल टोरी र डेभिड क्रोनवर्गका फ्यान बताउँछन् । फाबियानो हलिउड फिल्मको स्क्रीनप्ले लेख्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्