प्रहरीप्रतिको घट्दो विश्वास



 

समाजमा अग्रपंक्तिमा उभिने राज्यको प्रतिनिधि हो प्रहरी । प्रहरी संगठन जनताको सेवा र सुरक्षाका लागि खडा गरिएको राज्यको सर्वाधिक महत्वपूर्ण संयन्त्र हो । जनताले तिनै प्रहरीबाट गरिने सुरक्षाबाट राज्यको अनुभूत गरिरहेका हुन्छन् । तर केही समययता केही प्रहरीबाट भएका लापरबाहीले जनतामा निराशा छाएको छ ।

जनताका रक्षकले नै लापरबाही गरेपछि स्वाभाविक रुपमा राज्यआतंक बढ्ने हुन्छ । प्रहरी हिरासतमा रहेको व्यक्तिको मृत्यु हुने, प्रहरीबाट इन्काउटरमा मारिने, आपराधिक क्रियाकलापमा हुने अनुसन्धानमा लापरबाही हुने वा अनुसन्धान नै फितलो हुने क्रमसँगैको एउटा शृङ्खला हो, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा गरिएको पटक–पटकको लापरबाही ।

सो घटनाको अनुसन्धानमा भएको लापरबाहीको छानबिन गर्न गठित उच्चस्तरीय प्रतिवेदनले प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सो प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा कैयौं प्रश्नहरु उठाइएको छ । निर्मला हराएको सूचना पाएपछि पनि प्रहरी उदासीन रहेको, घटनास्थलको मुचुल्का उठाउने क्रममा गम्भीर गल्ती भएको, घटनासँग सम्बन्धित प्रमाण संकलनमा लापरबाही र हेलचेक्र्याइँ गरेको, घटनास्थलको पर्याप्त सुरक्षा नगरेको र अनुसन्धानमा तालिमप्राप्त कुकुर प्रयोग नगरेको प्रतिवेदनमा भनिएको छ । यो सर्वाधिक चर्चित घटना हो, जसमा प्रहरीले नै अपराधको ढाकछोप गर्न लागेको आभास भएको छ । मुलुकमा प्रहरीको लापरबाही प्रवृत्तिका यस्ता कैयौं घटना होलान्, जुन चर्चामा आएका छैनन् । यस विषयमा प्रहरी संयन्त्र सचेत हुनै पर्छ ।

निर्मला हराएपछि खोजी गरिदिन आग्रह गर्दै उनका परिवार प्रहरीकोमा पुग्दा तदारुकता त देखाइएन, बोली–व्यवहार पनि राम्रो थिएन भन्ने कुरा बाहिर आएको छ । यो एउटा प्रतिनिधिमूलक उदाहरण हो । समस्यामै परेर धेरै सर्वसाधारण प्रहरीकोमा पुग्ने हुन् । तर पीडित बनेर पुगेकाहरुप्रति प्रहरीको व्यवहार सहयोगी नभई शासकको जस्तो हुने गरेको देखिन्छ । यसका कारण प्रहरी र नागरिकबीचको दूरी कम सकिरहेको छैन ।

प्रहरी र जनताबीच दूरी मेटाउने कार्यक्रमहरु औपचारिक रुपमा मात्र सीमित हुन पुगेका छन् । प्रहरीले सर्वसाधारणलाई गर्ने व्यवहारमा व्यापक गुनासो आएपछि करिब चार वर्षअघि नेपाल प्रहरीले ‘मुस्कानसहितको प्रहरी सेवा’ अभियान शुरु गरेको थियो । अभियान चलिरहेकै बेला प्रहरीको व्यवहार झन् आलोचित भयो । एक वर्षमै यो अभियान असफल भयो । त्यसको दुई वर्षपछि प्रहरीमा ‘प्रहरी मेरो साथी’ नामक अर्को अभियान शुरु भयो । तर असलभन्दा खराब मान्छे मात्र प्रहरीका साथी भए ।

सर्वसाधारणसँगको प्रहरीको सम्बन्ध अपेक्षाकृत सधार हुन सकेन । यही क्रममा ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुरु गरियो । यस्ता अभियानले पनि प्रहरीको व्यवहारमा ठूलो परिवर्तन ल्याउन नसकेपछि प्रहरी प्रशासनप्रति जनताको विश्वास झन्–झन् घट्दै गएको छ । कानुनीराज र शान्ति सुरक्षाको दिशामा आइपरेको यो चुनौतीलाई प्रहरी नेतृत्वले गम्भीरतापूर्वक मनन गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्