पानीमाथिको ओभानो बन्ने कोशिश



सरकारको राम्रो कामको प्रचार भएन, चौतर्फीरुपमा सरकारमाथि हमला भयो भन्दै सत्तारुढ दलका शीर्ष नेताहरुले पटक–पटक आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । एउटै दलको स्पष्ट बहुमत र अन्य केही साना दलको सहायतामा दुई तिहाइ बहुमत भएको सरकारलाई कसले काम गर्न दिएन ?

त्यसको सार्वजनिकीकरण हुन सकेको छैन । सात महिनाअघि गठन भएको केपी ओली नेतृत्वको सरकारले अहिलेसम्म गरेका राम्रा काम के हुन् ? सरकार त्यो पनि भन्न सक्दैन । अनि भन्छ– राम्रा कामको प्रचार नभएर सबैतिरबाट घेराबन्दी गरियो । घेराबन्दी कहाँबाट कसले ग¥यो ? त्यो पनि स्पष्ट भन्न नसक्ने सरकारले राम्रा कामभन्दा नराम्रा काम नै बढी गरेपछि आलोचनाको सिकार हुनुपरेको छ ।

ठूला–ठूला सपना देखाउने सरकारले बितेको सात महिनामा कुनै एक राम्रो कामको त शुरुवात गर्नुपर्ने होइन ? प्रधानमन्त्री केपी ओलीले सार्वजनिक मञ्चमा गर्ने भाषण सुन्दा लाग्छ– मुलुक अबको केही दिनमा नै कायापलट हुन्छ । उहाँको भाषण शैलीलाई विश्वका राजनेताले तारिफ गर्नलायक छ तर काम भने केही पनि गर्न नसक्नुले उहाँलाई चटके प्रधानमन्त्रीको संज्ञा दिँदा फरक नपर्ला ?

मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको हालत हेर्दा मुलुकलाई जोगाउने शक्तिको खाँचो महसुस हुन थालेको छ । पटक–पटक अक्षम भएका शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले झीना–मसिना कुरालाई लिएर मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोज्नुले पनि ऊ जनताप्रति कत्तिको संवेदनशील छ भन्ने प्रस्ट हुन्छ । जनजीविकाको सवालमा सरकारलाई घचघच्याउनुपर्ने कांग्रेस आफैं कुहिराको कागजस्तो भएको छ । सरकारले गरेका गलत कामको डटेर सामना गर्नुपर्ने कांग्रेस आफैंभित्रको गुटले थला परेको छ ।

जनजीविकाको सवालमा असफल बन्दै गएको सरकारले आफूमाथि घेराबन्दी भएको र काम गर्न नदिइएको जस्ता मिथ्या आरोप जनतामाथि लगाउँदै आफ्नो बचाउ गर्ने सरकारी शैलीलाई के उपमा दिँदा ठीक होला ? यो सोचनीय विषय बनेको छ । दुई तिहाइको सरकार भएको घमण्ड गर्ने केपी ओलीले अहिलेसम्म केही न केही राम्रा काम गरेर जनताको मन जित्ने कोशिश गर्नुपर्नेमा अमुक समूहलाई देखाएर पानीमाथिको ओभानो बन्ने कोशिश कत्तिको सार्थक होला ?

त्यो विचारणीय विषय भएको छ । काम गर्न नसक्ने सरकारले सत्ता छोडेर काम गर्न सक्ने नेतालाई सत्ता हस्तान्तरण गर्नु नै उत्तम हुनेछ । यसतर्फ सत्तासीन दलका शीर्षनेताको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्