अनुगमनलाई मौसमी नबनाऊ



दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिका (कामपा)ले वजारमा उपलब्ध हुने मासुजन्य पदार्थ र खसीबोकाको अनुगमन गर्ने भएको छ । मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भएपछि महानगरवासी र यस्तो कारोबार गर्ने व्यवसायीलाई सचेत गराउन कामपा अनुगमन अघि बढाउने भएको हो । अनुगमनका क्रममा बासी मासु, रोगी खसीबोका र पशुपन्छी पाइएको खण्डमा जफत गर्ने र रोगी र अस्वस्थकर पशु रहेको पुष्टी हुँदा हुँदै विक्री गर्नेहरु माथि कार्वाही गर्ने महानगरको दावी छ ।

घटस्थापनादेखि शुरु हुने अनुगमन राजधानीको कलंकी, कोटेश्वर, बागबजार, विजुलीबजार र आवश्यकता अनुसार पशुपक्षी बजारमा केन्द्रित हुने बताइएको छ । खसीबोका विक्री गर्न खसीबोका व्यवस्थापन समिति, व्यवसायी र अन्य सरोकारवालासँग छलफल भइरहेको महानगरले जनाएको छ । गत वर्ष उपत्यकाका विभिन्न स्थानमा करिव ५० हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरेको कामपाले ६० हजार हाराहारी पशुपन्छीको परीक्षण गर्ने तयारी गरेको छ । चौपाय बधस्थल र मासु विक्री गर्ने पसलको समेत अनुगमन गर्ने महानगर पदाधिकारी बताउँछन् ।

दशैलाई लक्षित गर्दै हरेक उपत्यकामा धेरै ठाउँबाट खसिबोका, भेडा च्याङ्ग्रा र अन्यपशुपन्छी अधिकतम रुपमा आयात हुन्छ । तर ती के कति स्वस्थ हुन्छन् भन्ने प्रश्न सँधै खट्किन्छ । दुषित र रोगी पशुपन्छीको मासु खाँदा झाडापखाला, वाकवाकी लाग्ने, आउ, रगतमासी, चर्म रोग, जुका पर्ने, क्षयरोग, घाउखटिरा सहित विविध रोग लाग्ने पुष्टी भइसकेको छ । तर नियमित र प्रभावकारी बजार अनुगमन अनि उपभोक्ता लक्षित सचेतनामूलक कार्यक्रमको अभावमा सँधै यस्ता समस्या निम्तिने गर्छन् । सोही कारणले मिठो मसिनो खाँदै आफन्त र घर परिवारसँग खुशीयाली बनाउनुपर्ने चाडबाडमा सँधै अस्पतालमा विरामीको चाप बढ्ने गर्छ ।

मासु, पशुपन्छी र अन्य दैनिक उपभोग्य बजार अनुगमन काठमाडौं महानगरको विषय मात्रै होइन, उपभोक्तासँग जोडिने अन्य सरकारी निकाय र संघ÷संस्थाको पनि उत्तिकै दायित्व हो । कुनै एउटा निकायले आफू अनुकूल गर्ने केही दिनको क्षणिक र ‘मौसमी’ अनुगमनले मात्रै बजारको अवस्था सुध्रिँदैन । मौसमी अनुगमन त उपभोक्ताको आँखामा झारो हाल्ने र केही दिनको सस्तो प्रचारबाजी मात्रै हुन्छ । बधशालाको सरसरफाई र पशुपन्छी, भेडा च्याङग्राको विक्री वितरण जस्तो गम्भिर विषयमा राज्य गम्भिर बन्नुपर्छ, बाह्रैमास अनुगमनको खाँचो छ ।

काठमाडौं मात्रै होइन, उपत्यकाका तीनवटै जिल्ला, उपत्यका बाहिरका मुख्य–मुख्य सहरी क्षेत्र र नेपाल भित्रिने सीमानाकाको अनुगमन समेत प्रभावकारी रुपमा अघि बढाइनुपर्छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयको अनुगमन कुनै एक्लो निकायको पहलमा मात्रै संभव हुँदैछ, अन्य सरोकारवाला निकायसँगको हातेमालो पनि उत्तिकै प्रभावकारी बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्