छिटै माग आधिकारिक धारणा



भारतीय जनता पार्टी (भाजपा)का बरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थलबारे विवादास्पद टिप्पणी गरेका छन् ।

बिमानस्थलको धावनर्माग गतिलो नहुँदा पटक–पटक काठमाडौमा बिमान दुर्घटना हुने गरेको जौलीको तर्क छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा आफुले चिठ्ठी लेखेको उनले खुलासा गरेका छन् । नेपालको हवाई मैदानका कारण ठुला दुर्घटना भएको र यस बारेमा नागरिक उड्यन प्राधिकरणलाई पटक–पटक जानकारी गराउदा समेत बेवास्ता भएको जौलीले विज्ञप्ती सार्वजनिक गरेका छन् ।

यसबारे आफूले ओलीलाई समेत चिठ्ठी लेखेर जानकारी गराएको भन्दै उनले बिवादास्पद बिज्ञप्ती सार्वजनिक गरेका छन् । हिन्दी र अंग्रेजी भाषा तयार भएको सो विज्ञप्ती शुक्रवार सार्वजनिक भएको हो । उक्त विज्ञप्तीमा नेपालमाथि गम्भिर आरोप लगाउँदै भनिएको छ–‘त्रिभुवन बिमानस्थलको खराव मैदानका कारण युएस बङ्लाको बिमान दुर्घटना भई ४९ जना यात्रु मारिएको र टर्किस एयरलाईन्सको बिमान दुर्घटना भएको हो ।’ २०१२ सालमा बनेको बिमानस्थल ६३ बर्ष बितिसक्दापनि मर्मत संभार नभएकाले जुनसुकै बेलापनि जस्तो सुकै दुर्घटना हुने चेतावनी दिदापनि नागरिक उड्यन प्राधिकरणको आँखा खुल्न नसकेको उनको तर्क छ ।

गत महिना ओमानको मस्कटबाट काठमाडौ उडेको ओमान एयरको बिमान अवतरण गर्ने क्रममा धावनमार्ग बिग्रिएको र काठमाडौको मौसम खराव भएको सूचना गोप्य राख्दा सो विमान आकाशमा ११ चक्कर लगाउनु भएको जानकारी आफूले पाएको उनले बताएका छन् । सोही कारणले ओमान एयर लखनऊ बिमानस्थलमा अवतरण गराएको भन्ने खवरले आफुलाई दुःखी तुल्याएको पनि जौलीले विज्ञप्तीमा उल्लेख गरेका छन् । सो घटनाबारे संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीलाई जानकारी गराउँदा विमानस्थलको पुनर्निर्माण सन् २०१९को फेब्रुअरी २८ बाट शुरु गर्ने घोषणा गरेका गरेका जोलीले बताएका छन् ।

जौली भारतीय सत्तारुढ दल भाजपाका नेता हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बिषेश सल्लाहकार समेत रहेका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय हवाई उडानका लागि योग्य छैन भन्ने टिप्पणी गर्दै प्रधानमन्त्री र मन्त्रीलाई तत्काल सुधारको कदम चाल्न आग्रह गर्नु गम्भिर विषय हो । भारतीय स्थल सेनाध्यक्ष विपिन राउतले नेपालको सार्वभौम सत्तामा खलल पुग्ने अभिव्यक्ति दिए लगत्तै जौलीको टिप्पणी सार्वजनिक हुनु पक्कै पनि संयोग हुन सक्दैन । बिमस्टेक सदस्य राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतको असन्तुष्टी छताछुल्ल हुन थालेको प्रष्ट भएको छ ।

‘छिमेक पहिलो’ नीतिलाई प्राथमिकता दिएको बताउँदै आएको भारतले नेपाललाई ‘विशेष छिमेकी’को रुपमा व्यवहार गर्दै आएको स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायत अन्य मन्त्री र भाजपा नेताले बताउँदै आएका छन् । तर जौली र राउतका टिप्पणी सार्वजनिक भएपछि बोली र व्यवहार फरक देखिएको छ, सार्वभौम मुलुक माथिको हस्तक्षेप भएको छ । नेपालबारे एक पछि अर्को विवादास्पद अभिव्यक्ति सार्वजनिक भइरहँदा सरकारले कुटनीतिक माध्यम मार्फत भारतीय आधिकारिक धारणा माग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्