संविधान दिवसमा शुभकामना



नयाँ संविधान जारी भएको अवधि आजबाट ४ वर्षमा प्रवेश गरेको छ । नेपालमा संविधानसभाबाट संविधान जारी गर्नुपर्ने माग ७० वर्षअघिदेखि उठेको भए पनि लामो संघर्ष र बलिदानीपछि मात्रै मुलुकले संविधानसभाबाट संविधान पायो । यसै क्रममा मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेको छ ।

जनताद्वारा निर्वाचित सांसदले जारी गरेको संविधानपछि मुलुक संघीय गणतन्त्रमा प्रवेश गरे पनि संघीयता कार्यान्वयनमा भने ऐठन उत्पन्न भएको छ । संविधान जारी भएपछि तीन निकायका निर्वाचन सम्पन्न भए र सबै तह कार्यक्षेत्रमा रहेकै बेला कानुनको अभाव भएपश्चात् स्थानीय, प्रदेश र संघीय सरकारबीच टकरावको अवस्था सृजना भएको छ ।

कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको संविधान र नयाँ संविधानपछि बनेका सरकारको कार्यशैली एवम् जनतामा देखिएको नैरास्यताले संविधान दिवस मनाउने भन्दा संघीयताको विरोध गर्नेहरुको जमात बढ्दै गएको छ ।

मुलुक संघीयतामा जानुअघि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका लागि चाहिने सामान्य कानुनसमेत निर्माण नगरी एकैचोटि संविधानसभाबाट संविधान जारी भएपछि संघीयता विरोधी नेता चित्रबहादुर केसीले भनेजस्तै संघीयता ‘बाँदरको हातमा नरिवल’ भनेजस्तै हुन थालेको छ ।

संघीयताको परिभाषामा नै नेताहरुमा देखिएको अलमल र स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुमा देखिएको लाचारीपनले पनि संघीयता केसीले भनेजस्तै भएको छ । दुई तिहाइभन्दा बढी मतले जारी भएको संविधानको बारेमा अहिले चिया पसलदेखि भट्टी पसलसम्ममा नकारात्मक टिप्पणी हुनुमा संविधान दोषी कि संविधान जारी गर्ने नेताहरुको क्रियाकलाप दोषी भन्ने मननीय विषय बनेको छ ।

संसारभर संघीयताको असफल मात्र होइन, सफल प्रयोग पनि भएका छन् । नेताहरुको संघीयता कार्यान्वयन गर्ने चिन्तन नै गलत भएका कारण अहिले वाहवाही पाउनुपर्ने संविधान खारेजीको माग उठ्नुमा को दोषी ? यो खोज्ने बेला भएको छ । सरकारी तवरमा आज संविधान दिवसको नाममा सरकारी बिदासमेत दिइएको छ ।

तर जनजनमा संविधान मेरो हो भन्ने भावना प्रकट हुनुपर्नेमा उल्टो संविधान खारेजीको माग उठ्नुले हाम्रा नेताले कति गृहकार्य गरेर संविधान ल्याएका रहेछन् भन्ने पुष्टि हुन्छ । तराई मधेस उठाएर छिमेकी मुलुकले संविधान कार्यान्वयनमा व्यवधान ल्याउन खोजिरहेकै बेला यस्ता निराशाजनक अभिव्यक्ति बाहिर आउनु पक्कै राम्रो संकेत होइन ।

हिजोका राजावादीहरु र संघीयता विरोधी गणतन्त्रवादीहरु एउटै कित्तामा उभिन खोज्नुले हाम्रा नेताहरुको दूरदर्शिता कति रहेछ भन्ने छर्लंग हुन्छ । नेपाली जनताको नासोको रुपमा जारी भएको संविधान र संघीय गणतन्त्रलाई जोगाइराख्न नेताहरुले आफूलाई परिवर्तन गर्नुपर्छ । संविधान दिवसको अवसरमा यही शुभकामना ।

प्रतिक्रिया दिनुहोस्