निर्मला हत्या प्रकरण,अझै शंकाको घेरामा



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या भएको डेढ महिना बितिसक्दा पनि वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन ।

छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले पत्रकार सम्मेलन गरी आफू घटनाको अनुसन्धान गर्दा असुरक्षित महसुस भएको भन्दै समितिको सदस्यबाट राजीनामा दिएपछि घटनाको वास्तविकता बाहिर आउनेमा झनै शंका उत्पन्न भएको थियो । तर अहिले केसी पुनः सोही समितिमा रहेर काम गर्ने गरी फर्किएका छन् । उनले यसरी राजीनामा गर्नु र पुनः काममा फर्कनुले घटना झनै रहस्यमय बन्दै गएको देखिन्छ ।

अहिले वीरेन्द्र केसीले केही असमझदारीका कारण आफूले राजीनामा दिएको र ती असमझदारी हटेकाले काममा फर्केको बताएका छन् । घटनाका दोषीलाई कारबाही गर्नुपर्ने आफ्नो धारणामा गृहमन्त्री रामबहादुर थापाको समेत साथ पाएको उनले बताएका छन् । निर्मलाको हत्या प्रकरणमा अब निष्पक्षरुपमा छानबिन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

उनको भनाइले भने यस घटनाको वास्तविकता बाहिर आउने र दोषी पत्ता लाग्नेमा झीनो आशा भने पलाएको छ । वास्तविक अपराधी पक्राउ गर्नेमा शंका उत्पन्न भएको भन्दै निर्मलाका आमाबुबा पनि सरकारलाई दबाब दिन काठमाडौं आएका छन् । यस प्रकरणमा प्रहरी त आलोचित भयो नै, अब सरकार पनि आलोचित भयो भने मुुलककै बदनाम हुनेछ ।

यता जिल्ला अदालत कञ्चनपुरले प्रहरीद्वारा घटनामा दोषी भनिएका दिलीपसिंह विष्टलाई साधारण तारिखमा छोडेको छ । निर्मलाको डीएनएको प्रोफाइल र दिलीपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि उनी साधारण तारिखमा रिहा गरिएका हुन् । वास्तविक अपराधी जोगाउन नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै स्थानीयले विरोधसमेत गरेका थिए ।

यस विरोध आन्दोलनमा एकजनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । घटनाको वास्तविकता पहिल्याई दोषीमाथि कारबाहीको माग गर्दै दबाबमूलक आन्दोलन भएर लामो समय व्यतीत भइसक्दा पनि घटनाको वास्तविकता बाहिर आउन नसक्नुमा ठूलैको हात रहेको अनुमान गर्न गाह्रो छैन ।

केसीले छानबिन समितिबाट राजीनामा दिनु, फेरि सोही समितिमा रहेर काम गर्ने गरी उनी फर्कनु र उता प्रहरीद्वारा दोषी भनिएका दिलीपसिंहलाई तारिखमा रिहाइ गर्नुले निर्मला हत्याकाण्ड अझै शंकाको घेरामा छ । अब पनि निर्मला हत्याकाण्डका दोषीलाई जोगाएर वास्तविकता लुकाउन खोजियो भने यसको परिणाम भयावह हुनेछ । यस हत्या प्रकरणको वास्तविकता पहिल्याई दोषीउपर कडा कारबाही भएको हेर्न जनता आतुर छन् ।

प्रतिक्रिया दिनुहोस्