सरकार ! गफभन्दा काम गरेर देखाऊ



सरकारले समृद्ध नेपालको नारा अगाडि सारेको छ । हरेक सरकार गठन भएपछि नयाँ–नयाँ नारा अगाडि सारेको हुन्छ । सरकारले घोषणा गरेका कार्यक्रम थोरै मात्र कार्यान्वयन भैदिएको भए समृद्धिको पद पछ्याउन सक्थ्यो । देशमा जति पनि सरकार बने, सबै सरकारले आश्वासन र नारा नै बाँडे ।

नागरिकहरुले समृद्धिको सपना कुरेर बसेको वर्षौं बितिसकेको छ । सरकारले अगाडि सारेको घोषणा कार्यान्वयन गर्नको लागि दृढ इच्छाशक्तिको खाँचो पर्छ । तर आफ्ना घोषणाहरुलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने जाँगर र इच्छाशक्ति सरकारले देखाउन सकेको छैन । सरकारमा नपुग्ने बेलासम्म चर्को नारा र भाषण दिने विगतका राजनीतिक दलहरु पनि सरकारमा पुगेपछि काम गर्न नसकेरै बिदा हुँदै आएका थिए ।

राजनीतिक अस्थिताबाट दिक्क भएका नेपाली जनताले पाँच वर्ष सरकार सञ्चालन गर्ने गरी नेकपालाई बहुमत दिएका छन् । दुई तिहाइ बहुमत प्राप्त गरेको नेकपाले सरकार गठन गरेको पनि छ महिना बितिसकेको छ । निर्वाचनमा जनतासमक्ष गरिएको प्रतिबद्धता र घोषणापत्रअनुसार काम हुन नसकेको भन्दै नागरिकहरुमा निराशा र आक्रोश बढ्न थालेको छ ।

दुई तिहाइको बहुमत प्राप्त सरकारले पनि गर्न नसकेको काम कुन सरकारले गर्छ ? यो आमनागरिकको प्रश्न हो । जनताले आशा र भरोसा गरेर नै दुई तिहाइ बहुमत दिएका हुन् । सरकारले जनताको दुःखलाई आत्मसात् गरेर निर्वाचनमा बोलेको बाचा मात्र इमानदारीपूर्वक कार्यान्वयन गरिदिने हो भने पनि निकै ठूलो राहतको महसुस नेपाली नागरिकले गर्ने थिए ।

कामभन्दा पनि भाषण धेरै गर्दा नागरिकमा निराशा पैदा हुँदै गएको छ । सुधार गर्न सकिने काममा पनि ढिलासुस्ती र आलटाल गर्ने प्रवृत्ति कायमै छ । जहाज ठूलो भए पनि त्यसलाई अड्याउने स–साना नटबोल्ट हुन्छन् । एउटा नटबोल्ट केही कारणले कसिएन भने जहाज नै दुर्घटना हुन पनि सक्छ ।

सरकारले ठूलो सपना र आश्वासन बाँडे पनि नागरिकको न्यूनतम आवश्यकता पूरा गर्न ध्यान दिन सकेको छैन । सरकारले नारा र भाषण दिएर मात्र नागरिकको दैनिक आवश्यकता पूरा हुन सक्दैन । जनताको न्यूनतम समस्या पहिचान गरी समस्या समाधान गर्नतिर सरकार लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्