काठमाडौंवासीको पट्यार लाग्दो प्रतीक्षा



मेलम्चीको पानी पिएर प्यास मेट्ने काठमाडौंवासीको चाहना यो दशैँमा पनि पूरा नहुने निश्चित भएको छ । खानेपानी मन्त्रीदेखि सरोकारवाला सचिवसम्मले दशैँमै पानी आउँछ भनेर पटक–पटक भनिरहे पनि अझै थुप्रै काम बाँकी रहेकाले काठमाडौंवासीको यो चाहना पूरा हुन थप केही महिना लाग्ने बताइएको छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौं पखाल्ने उद्घोष गरेदेखि नै काठमाडौंवासी प्रतीक्षारत छन् ।

त्यसपछिका प्रधानमन्त्री, मन्त्री अनि अन्य जनप्रतिनिधिहरुले पनि मेलम्चीको पानी ल्याउने भाषण गरिरहे तर पूरा गर्न सकेनन् । हुन त यसबीचमा काम नै नभएको भन्नचाहिँ मिल्दैन, तर पनि जति तीव्रगतिमा हुनुपर्ने हो त्यो भने हुन सकेन । कहिले स्थानीयको विरोध, कहिले ठेकेदारको लापरबाही, कहिले राजनीतिक खिचातानी त कहिले भारतीय नाकाबन्दी र विनाशकारी भूकम्पको असरले मेलम्चीको काम अगाडि बढ्न सकेन ।

पछिल्लो समय आगामी दशैँमा मेलम्चीको पानी खुवाउने भनेर काठमाडौंका कतिपय स्थानमा खानेपानीको नयाँ पाइप पनि बिच्छ्याइयो । तर मेलम्चीमै काम नसकिँदा काठमाडौंमा पानी वितरण गर्न अझै ५–६ महिना लाग्ने देखिएको छ ।

पानी पठाउने सुरुङ गत चैतमै छिचोलिए पनि फिनिसिङको काम बाँकी नै छ । सुरुङमा अहिले ढलानको काम भैरहेको छ । दैनिक ५०–६० मिटरको दरले सुरुङ ढलान हुँदा पनि अहिलेसम्म १० किलोमिटर मात्रै ढलान भएको समाचार छ । यस हिसाबले अझै १७ किलोमिटर सुरुङ ढलान हुन बाँकी देखिएको छ ।

यही गतिमा सुरुङ ढलान हुँदा पनि सबै काम सकिन अझै साँढे पाँच महिना लाग्ने प्राविधिकहरूको भनाइ छ । एक प्राविधिकको भनाइमा यो दशैँमै मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउन अहिलेको कामको गतिलाई दोब्बर बढाउनुपर्छ । त्यसैले पनि मेलम्चीको पानी चाँडो काठमाडौं आउने सम्भावना देखिँदैन ।

निर्देशनालयअन्तर्गत भैरहेको थोक वितरण र वितरण सञ्जालको पाइपलाइन बिछ्याउने काम अझै सकिएको छैन । १ हजार वितरण सञ्जालमध्ये हालसम्म ७ सय ३० किलोमिटर मात्रै बिछ्याइएको छ । १० स्थानमा पानी बाँडेर पानीपोखरी बन्नुपर्नेमा भक्तपुरको कटुन्जेमा भर्खर जग हालिएको छ अवस्था छ । मेलम्चीको पानी सुन्दरीजलमा खसालेलगत्तै पानी खुवाउन सक्ने अवस्था पनि छैन । मुख्य शहरी क्षेत्रबाहेकका स्थानमा पानी खुवाउन ६ महिना लाग्ने निर्देशनालयले नै जनाएको छ । पानी प्रशोधन केन्द्रदेखि पानीपोखरी र पाइपलाइनको पूरै प्रणाली जाँच गर्न ६ महिनासम्म लाग्ने जनाइएको छ ।

विनानिरीक्षण, विनायोजना र विनासोच जनप्रतिनिधि एवम् सरकारमा रहनेहरुले मेलम्चीको पानी छिट्टै काठमाडौंमा झार्ने सपना देखाएकै हुन् । यसरी आधारहीन हावादारी गफभन्दा पनि काम देखाएर काठमाडौंवासीको लामो समयदेखिको पानीको प्यास मेटाऊ । काठमाडौंवासी मेलम्चीको पानी पिएर प्यास मेटाउन हतारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्