सरकार जिम्मेवार बन



सरकारले ‘समृद्ध नेपाल सुखी नेपाल’को नारा अगाडि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको ६ महिना बितिसकेको छ । सरकार गठन भएपछि सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम र बजेटले निकै आशा जगाएको पनि थियो ।

तर व्यावहारिकरुपमा कार्यान्वयनको पक्ष फितलो देखिएको छ । प्रधानमन्त्री ओलीले नै सरकारले राखेको लक्ष्य प्राप्त गर्नको लागि मन्त्री र सचिवाहरुलाई पटक–पटक निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार हुनुपर्ने काम पनि सहज ढंगले हुन सकेको देखिएको छैन ।
देशभर बलात्कार, हत्या र महिला हिंसालगायतका घटनामा वृद्धि भएको छ । शान्ति सुरक्षा कायम गर्नु सरकारको कर्तव्य हो ।

नागरिकहरुको सुरक्षासँग जोडिएको विषयमा संवेदनशील हुनुपर्छ । सरकारले विकास निर्माणको कामलाई जुनरुपमा अगाडि बढाउने प्रतिबद्धता गरे पनि कार्यान्वयका पक्षमा विभिन्न बहानाबाजीहरु तेस्र्याउने काम हुँदै आएको छ ।

सरकारले नागरिकरुले प्रत्याभूति गर्ने गरी काम गर्नुपर्छ । सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा दृढतापूर्वक लागू गर्ने इच्छाशक्ति पनि देखाउनुपर्छ । सरकारले नारा भाषणमा भन्दा पनि काममा बढी विश्वास गर्नुपर्छ ।

 

सरकारका मन्त्रीहरु जसरी परिणाम देखाउनको लागि लाग्नुपर्ने हो । त्यसको सट्टा दैनिकरुपमा शिलान्यास, उद्घाटन, सभा–समारोहमा बढी समय बिताएको देखिन्छ । मन्त्रीहरुको काम नीति निर्माण र त्यसलाई प्रभावकारीरुपमा लागू गर्ने हो । तर आफ्नो दायित्व र कर्तव्य भुल्दै मन्त्रीहरु अनावश्यक कार्यक्रम उद्घाटन गर्ने कार्यमा दौडधुपमा देखिन्छन् ।

परिणाम निकाल्नको लागि सरकारका सबै अगंहरुले मन, बचन र कर्मका साथ काम गर्नुपर्छ । दैनिकरुपमा दिइने भाषणले मात्र समृद्धिको सपना पूरा हुँदैन । प्रधानमन्त्रीले मन्त्रीहरुको पनि अनुगमन गर्ने संयन्त्र विकास गर्ने घोषणा गर्नुभएको थियो । सरकार गठन भएपछि कुन मन्त्रीले काम गरे, कसले गर्न सकेन भन्ने निष्कर्ष निकाल्ने बेला पनि आएको छ ।

नागरिकहरुलाई समृद्धिको सपना बाँडेपछि कार्यान्वयन गर्ने दायित्व पनि सरकारको नै हो । दुई तिहाइ बहुमत प्राप्त सरकारले कानुनी बाधा–अड्चन फुकाएर भए पनि प्रभावकारी काम गर्नेतर्फ लाग्नुपर्छ । स–साना र झीना–मसिना विषयमा अल्झिनुभन्दा पनि सरकारले हरेक नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्