भूकम्पपीडितका समस्याप्रति स्पष्टताको खाँचो



सरकारले भूकम्पपीडितलाई निजी आवास पुनर्निर्माणका लागि निब्र्याजी र सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने बताए पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन ।

भूकम्पपीडितलाई उपलब्ध गराउने कर्जाका विषयमा कागजी नीति र कार्यविधि निर्देशिका पर्याप्त बने पनि ठोसरूपमा कार्यान्वयनमा आउन सकेको छैन । बंैकहरूबाट सहुलियत ब्याजदरको ऋण र सामूहिक जमानीको ऋण पाउन नसक्दा अधिकांश पीडितले पुनर्निर्माण गर्न सकेका छैनन् ।

अपवादका रुपमा केही भूकम्पपीडितले २ प्रतिशत ब्याजदरको आवास कर्जा पाए पनि अहिले आएर बैंकहरुले सो ब्याज १४ प्रतिशतसम्म पु¥याएको गुनासो आइरहेको छ । राष्ट्र बैंकले त्यस्ता ऋणीको धितो तत्काल लिलाम नगर्न निर्देशन दिए पनि यो दीर्घकालीन समस्या समाधान होइन । यस विषयमा कहाँ गएर हलो अड्किएको छ भन्ने समेत स्पष्टता छैन । भूकम्पपीडितहरु भने अझै आशाको त्यान्द्रोमा अल्झिरहेका छन् ।

यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त गुम्बा र विहारहरु बनाइदिने सरकारबाट आश्वासन पाएको लामो समय बितिसक्दा पनि कुनै प्रक्रिया अघि नबढाइएको भन्दै नेपाल गुम्बा विहार महासंघ संघर्षमा उत्रिएको छ ।

महासंघको आह्वानमा बुधबार काठमाडौंमा दबाबमूलक ¥याली निकालिएको थियो । केही दिन पर्खंदा पनि सुनुवाइ भएन भने कडा संघर्षमा उत्रने महासंघले चेतावनी दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने गुम्बा, विहार बनाउने योजना प्राथमिकतामा रहेको बताएको छ ।

प्राधिकरणका अनुसार यसका लागि बजेट पनि छुट्टिइसकेको छ । तर प्राधिकरणको कार्यकारी समितिको बैठक बस्न नसक्दा केही अलमल भएको प्राधिकरणको स्वीकारोक्ति छ । यी कुराले गुम्बा, विहार पुनर्निर्माणसम्बन्धी पनि कहीँ न कहीँ हलो अड्किएकै छ भन्ने बुझ्न गाह्रो छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारले घोषणा गरेअनुरुपको ऋण उपलब्ध गराउन पटक–पटक कार्यविधि संशोधन गरेर बैंक तथा ऋणीलाई सहज बनाउने प्रयास गरेको बताउँदै आएको छ तर अधिकांश लाभग्राहीले उक्त सुविधा उपभोग गर्न पाएको देखिँदैन ।

भूकम्प गएको ३ वर्ष बितेर चौथो वर्ष शुरु भइसक्यो । यत्तिको समय बितिसक्दा पनि धेरैजसो निजी आवासहरु एवम् ऐतिहासिक सम्पदाहरु पुनर्निर्माण हुन सकेका छैनन् । नीति, नियम र कानुनी जटिलताका कारण भूकम्पपीडितहरुले अझै सहज किसिमले राहत पाउन नसक्नु सरकारको लाचारी एवम् निरीहपन हो । यस विषयमा सरकारले स्पष्ट जवाफ दिन सक्नुपर्छ र कहीँ गाँठो परेको भेटिएमा त्यसलाई फुकाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्