आपराधिक गतिविधिलाई मलजल नगरौं



आमसञ्चार माध्यममा करिब ३ महिनासम्म मुख्य समाचार बनेको ३३ किलो सुनकाण्डको विषय अहिले सुनसानझैं बनेको छ । सो काण्डमा मुछिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन बनेको छानबिन समितिले तयार पारेको प्रतिवेदन गुमनाम भएको छ । समितिले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाए पनि थप कारबाही अघि बढ्न सकेको छैन । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उच्च नेतासमेत सो काण्डमा मुछिएको पाइएपछि प्रतिवेदन गुमनाम पारिएको चर्चासमेत हुन थालेको छ ।

समितिले ३ सयभन्दा बढी व्यक्तिमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा आंैल्याएको बताइएको छ । अनुसन्धान गर्न सुझाइएका व्यक्तिको सूचीमा राजनीतिक पृष्ठभूमिका चर्चित व्यक्तिसमेत फस्ने भएपछि यो विषय गुपचुप राख्न खोजिएको सुरक्षा निकायसम्बद्ध अधिकारी बताउँछन् । सोही कारणले बुझाइएको प्रतिवेदन विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्णविराम लगाउने चलखेलसमेत हुन थालेको बताइन्छ । पटक–पटक आफूहरू ‘ठूला माछा’ (मुख्य अभियुक्त) नजिक पुगेको बताइरहने गृहमन्त्री रामबहादुर थापासमेत हिजो–आज यो विषयमा मौन हुनुहुन्छ ।

यो काण्डसँग जोडिएर पक्राउ परेका विमल पोद्दारले छानबिन समितिसमक्ष केही नेता र केही पूर्वमन्त्रीको नाम प्रष्टरूपमा बताएपछि यो विषय नियोजितरूपमा ओझेलमा पारिएको चर्चा हुन थालेको छ । यो विषयको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीको अपराध महाशाखालाई दिइएकामा अनुसन्धान सतहीरूपमा गरेर मुद्दा नै बन्द गराउन खोजिएको स्वयं सुरक्षा निकायका अधिकारी बताउँछन् ।

अनुसन्धानबारे प्रहरी–प्रहरीबीच नै राय बाझिएको छ, महाशाखाले अनुसन्धान भइरहेको बताएको छ भने प्रहरी प्रवक्ता शैलेश थापा आफूहरूलाई छानबिन समितिको प्रतिवेदन प्राप्त नभएको बताउनुहुन्छ । एउटै प्रहरी युनिटका समान तहका महाशाखा प्रमुख धीरजप्रताप थापा र प्रहरी प्रवक्ता थापाको राय बाझिँदा शंका गर्ने ठाउँ बढाएको छ । गृह मन्त्रालयको निर्देशनमा गुपचुप ढंगमा अपराध महाशाखाले पक्कै पनि यो विषय छानबिन गर्ने जिम्मेवारी पाएको त होइन होला ।

अनि आपराधिक गतिविधिमा विगतको पृष्ठभूमि नियाल्दा ठूला आपराधिक घटना र चलखेल शक्ति केन्द्रको आशीर्वाद र राजनीतिक आडमा हुँदै आएका छन् । सुनकाण्डलाई किनारा लगाउन छानबिन समितिले प्रतिवेदन तयार गर्नुअघि नै त्यस्तो गन्ध पर्याप्त आएको हो, त्यसैले यो वा त्यो बहानामा सुनकाण्ड ढाकछोप गरिनुहुन्न । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उक्ति सधैं दोहोरिनुहुँदैन, कानुन सबैका लागि समान बन्नुपर्छ । सुनकाण्ड पारदर्शी ढंगमा छानबिन भयो भने अन्य विषयका अपराध पनि आगामी दिनमा मौलाउने वातावरण बन्दैन ।

प्रतिक्रिया दिनुहोस्