सत्यतथ्य सार्वजनिक गर



एघार वर्षीय बालक निशान खड्कालाई अपरण गरी हत्यामा संलग्न दुई युवक मुठभेडमा मारिएको समाचार आएसँगै प्रहरीमाथि नै शंकाका विभिन्न प्रश्न खडा भएको छ । अपहृत बालकको सकुशल उद्धार गर्न नसकेको प्रहरीले अपहरणकारीलाई पक्राउ गरी मुठभेडको नाममा जंगलमा लगेर मारेको भन्दै आलोचना भैरहेको छ ।

आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका बालकको शव सोमबार मध्याह्न मध्यपुर ठिमी नगरपालिका नगदेशस्थित एक घरमा हत्या गरी गाडिएको अवस्थामा फेला परेको थियो । प्रहरीले अपहरणमा संलग्न दुई युवक अजय तामाङ र गोपाल तामाङसँग सूर्यविनायकको मन्दिरमाथि रहेको जंगलमा मुठभेड हुँदा उनीहरुको मृत्यु भएको जनाएसँगै प्रहरीमाथि नै विभिन्न शंका उत्पन्न भएको हो । यो घटनामा बालकलाई सकुशल उद्धार गर्न असफल भएपछि प्रहरी आलोचित हुनबाट जोगिन मुठभेडको नाममा अपहरणकारीलाई मारेको आरोप पनि लागिरहेको छ । साथै, यस घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रहरी हिच्किचाएको आरोप पनि लागेको छ ।

घटनालगत्तै सञ्चारमाध्यमहरुले विभिन्न स्रोत परिचालन गरी सत्यतथ्य बाहिर ल्याउने प्रयास गरिरहेका छन् । अपहरणकारी डेरा गरी बस्ने घरका सदस्य तथा स्थानीयको भनाइअनुसार अजय र गोपाललाई प्रहरीले कोठाबाटै पक्राउ गरेर लगेको हो । प्रहरीले भने पाइलटबाबा आश्रम जाने जंगलमा प्रहरीमाथि अपहरणकारीले गोली प्रहार गर्न लाग्दा आत्मरक्षाको लागि प्रहरीले चलाएको गोली लागी उनीहरुको मृत्यु भएको जनाएको छ । प्रहरीकै भनाइअनुसार अपहरणकारीबाट कुनै फायर भएको छैन भने प्रहरीले १९ राउन्ड फायर गरेको छ ।

अपहरणकारीलाई प्रहरीको ७ राउन्ड गोली लागेको बताइएको छ । स्थानीयका भनाइअनुसार कोठाबाट लैजाँदा अपहरणकारीको खालि खुट्टा थियो । यसले पनि प्रहरीको गतिविधिलाई शंकाको घेरामा राखेको छ । अझ गोपाल र अजयलाई सादा पोशाकमा आएका प्रहरीले उनीहरु बसेको कोठाभित्रै कुटपिट गरी आँखामा पट्टी बाँधेर लगेको दर्जनौंले देखेको बताइएको छ । यसले पनि यो घटनमा प्रहरीको भूमिकामा शंका उत्पन्न भएको छ ।

शान्ति सुरक्षा कायम गर्ने प्रमुख दायित्व बोकेको प्रहरीमाथि नै यस्ता आशंका उब्जनु गम्भीर कुरा हो । यो घटनाले प्रहरी संगठनको काम कारबाहीमाथि ठूलो प्रश्नचिह्न खडा भएको छ । प्रहरीमाथिको शंकास्पद गतिविधिबारे छिटोभन्दा छिटो सत्यतथ्य सार्वजनिक नभए आमसर्वसाधारणको समेत प्रहरीमाथिको विश्वासमा आघात पुग्दछ । अतः ११ वर्षीय बालक अपहरण र हत्या तथा अपहरणकारीको मुठभेडमा मारिएको घटनाको सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्