चार खेलाडी टी २० वरियतामा सूचित

0
Shares

काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय टी २० क्रिकेटको वरियतामा नेपालका चार खेलाडी शीर्ष १ सय भित्र सूचित भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, सरद भेषवाकर ब्याटिङमा र वसन्त रेग्मी र सोमपाल कामी बलिङतर्फ शीर्ष १ सय भित्र परेका हुन् । व्याटिङतर्फको वरियतामा पारस ८९ औं स्थानमा रहँदा सरद ९८औं स्थानमा रहेका छन् । वरियतामा पारसले २ सय ६५ अंक र सरदले २ सय ३८ अंक प्राप्त गरेका छन् ।

यसअघि पारस शीर्ष १ सय भित्रको वरियतामा टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा पनि परेका थिए । २०१४ र २०१५ मा नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउँदा पारस त्यतिबेला ६५ औं स्थानमा रहेका थिए । यो नेपाली क्रिकेटरका लागि अहिलेसम्मकै सबैभन्दा उच्च वरियता हो ।

बलिङतर्फ स्पिनर वसन्त ७१ औं स्थानमा अटाए भने फास्ट बलर सोमपाल ९२ औं स्थानमा रहेका छन् । वसन्तले ३ सय ९७ वरियता अंक र सोमपालले ३ सय ३८ वरियता अंक हासिल गरेका छन् । बलिङतर्फ नेपालकै प्रतिद्वन्द्वी अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् । ब्याटिङमा अस्टे«लियाका आरोन फिन्च पहिलो नम्बरमा छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टी २० क्रिकेटको अलराउन्ड वरियतातर्फ पनि पारस, सोमपालले स्थान बनाउन सफल भए । पारस ३७ औं र सोमपाल ५७ औं स्थानमा रहेका छन् । अलराउन्डतर्फ वरियतातर्फ अस्टे«लियाका ग्लेन मेक्सवेलले शीर्ष स्थान हात पारेका छन् ।