१३ औं सागमा दुई खेल थपियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपालले आयोजना गर्ने १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा दुई खेल थपिएको छ । शनिबार याक एण्ड येति होटलमा बसेको सागमा केन्द्रीत दक्षिण एयिाली ओलम्पिक काउन्सिलको बैठकले सोको निर्णय गरेको हो । पहिले नराखिने भनेपनि क्रिकेट र प्याराग्लाइडिङलाई १३ औं सागमा राखिने भएको हो । योसँगै नेपालमा मार्च २०१९ मा हुने सो प्रतियोगितामा २७ खेलमा प्रतिस्पर्धा गराइने भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बैठक बसेको हो । बैठकमा भुटान बाहेक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी ६ राष्ट्र सहभागी थिए । एनओसीका अध्यक्ष श्रेष्ठले सरोकारवाला सबैको सहयोग भए १३ औं सागको समय तालिकामा कुनै फेरबदल नगरी निर्धारित समयमै साग आयोजना गर्न लागि परेको बताए ।

मार्चसम्ममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निर्माण सकिने पनि श्रेष्ठले आसा गरेका छन् । यो बैठकपछि सबै राष्ट्रका प्रतिनिधिले रंगशालाको निरीक्षण समेत गरेका थिए । त्यस्तै सातदोबाटोस्थित पौडी पोखरीको ९० प्रतिशत काम भइसकेको बताइएको छ । त्यहाँ हिटिङ सिस्टम पनि जडान गरिएको छ । पोखरामा पनि सागका केही खेलहरु आयोजना गर्न त्यहाँ भौतिक पूर्वाधार बनिरहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । तर आयोजकले त्यहाँ के के खेल आयोजना गर्ने भनेर कुनै जानकारी गराउन सकेको छैन ।

१३ औं सागमा हुने २७ खेलहरु यसप्रकारका छन्—१.ब्याडमिन्टन,२.एथ्लेटिक्स, ३.बक्सिङ, ४.गल्फ, ५.कराते, ६.क्रिकेट, ७. प्याराग्लाइडिङ, ८. खो खो, ९.सुटिङ, १०.आर्चरी, ११. टेबलटेनिस, १२. लन टेनिस, १३. ट्रायथलन, १४. भलिबल, १५.फुटबल, १६.पौडी, १७.स्क्वास, १८. बास्केटबल, १९.कबड्डी, २०.भारत्तोलन, २१.उसु, २२.कुस्ती, २३.तेक्वान्दो, २४. ह्यान्डबल, २५.जुडो, २६. हकी, २७. साइक्लिङ ।

Skip This