प्रधानन्यायाधीशसम्बन्धी उजुरी गोप्य

0
Shares

प्रशान्त वली, काठमाडौं
संघीय संसद् संसदीय सुनुवाइ समितीले प्रधानन्यायाधीश नियुक्ति सम्बन्धमा परेका सबै उजुरी अहिलेसम्म गोप्य राखेको छ । उक्त समितिले भोलि आइतबारसम्म उजुरी संकलन गर्न सकिने जनाउँदै कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त नहुने कुनै कारण, प्रमाण भएमा स्पष्ट आधारसहित उजुरी निवेदन दिन आग्रह गरेको हो ।

समितिले उजुरीमा उजुरीकर्ताको नाम, थर, वतन र सम्पर्क स्पष्ट रुपमा खुलाउनुपर्ने जनाएको छ । संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । उक्त समितिले प्रधानन्यायाधीशको नियुक्तिविरुद्ध परेका उजुरीको सुनुवाइ गर्नुपर्ने हुन्छ । सम्पूर्ण उजुरीका विषयमा क्रमशः सुनुवाइ अघि बढाइने समिति सदस्य पार्वत गुरुङले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । तर उहाँले अहिलेसम्म परेका उजुरीको संख्या र प्रकृतिबारे जानकारी दिन मान्नुभएन ।

सर्वोच्च अदालतमा २०७४ चैत १ देखि प्रधानन्यायाधीश पद रिक्त छ । यसअघि २०७४ असार ३ देखि चैत्र ३० सम्म आठ महिना गोपाल पराजुली प्रधानन्यायाधीशका रुपमा बहाल रहनुभएको थियो । २०७५ वैशाखमा कायममुकायमा बन्नुभएका जोशी प्रधानन्यायाधीश बनेमा उहाँको कार्याकाल २०७६ साउनसम्म कायम रहनेछ ।

संसदीय समिति गठन भए पनि रिक्त राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, मुस्लिम आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखहरूको नियुक्ति प्रक्रिया शुरु गरिएको छैन । सदस्य गुरुङले यी निकायका प्रमुख नियुक्तिको प्रक्रिया अब क्रमशः थालिने दाबी गर्नुभयो ।

Skip This