विश्वकप लगातार यूरोपेलीले जित्ने



ब्राजिल बाहिरिएसंगै रुसमा जारी फिफा विश्वकप फुटबलको उपाधि युरोपेली राष्ट्रको पोल्टामा पर्ने निश्चित भएको छ । शुक्रवार भएको दुई क्वाटरफाइनलमा खेलमा दक्षिण अमेरिकी राष्ट्रहरुको हारेपछि युरोपियन राष्ट्रले नै विश्वकप ट्रफी उचाल्ने पक्का भएको हो ।

सन् २००२ मा ब्राजिलले विश्वकप जितेयता युरोपियन राष्ट्रले मात्र उपाधि जित्दै आएको छ । पछिल्लो चार संस्करणमा विश्वकपले चार फरक विजेता समेत पाउने भएको छ । २००६ मा इटाली, २०१० मा स्पेन तथा २०१४ मा जर्मनीले विश्वकप ट्रफी उचालेको थियो ।

पहिलो क्वाटरफाइनलमा दुई पटकको च्याम्पियन उरुग्वे फ्रान्ससँग पराजित हुँदा पाँच पटकको विजेता ब्राजिल मात्र दक्षिण अमेरिकीहरुको आशा थियो । तर ब्राजिललाई दोस्रो क्वाटरफाइनलमा बेल्जियमले पराजित गरेपछि सेमिफाइनलको दुवै भिडन्त नै अल यूरोप हुने भएको छ ।

दक्षिण अमेरिकी राष्ट्रमध्ये पेरु समूह चरणबाटै घर फर्किएको थियो भने अर्जेन्टिना र कोलम्बियाले अन्तिम १६ मा यात्रा टुंग्याएका थिए । जारी विश्वकपको क्वाटरफाइनलको खेलपछि उपाधि होडको अन्तिम ४ का सबै टोली युरोपका छन् ।

प्रतिक्रिया दिनुहोस्