मेसीको आलोचनामा डिभोर्स

0
Shares

मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपबाट अर्जेन्टिना र पोर्चुगल बाहिरिसकेका छन् । यसैले दुई सुपरस्टार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो पनि घर फर्किसके । उनीहरु घर फर्किसकेपछि पनि यी दुईका फ्यान घटेका छैनन् । यी खेलाडीका फ्यानहरु आ–आफ्ना खेलाडीको आलोचना सुन्न चाहँदैनन । यदि यो विषयमा विवाद गरेमा वा एक अर्काको खेलाडीबारे खराब कुरा भनेमा दाम्पत्य जीवन समेत धरापमा पर्ने एउटा घटनाले छर्लङ गरेको छ ।

एक श्रीमानले रोनाल्डोलाई मेसीभन्दा राम्रो फुटबलर भनेपछि आफ्नी श्रीमतीलाई डीभोर्सको नोटिस दिएका छन् । केवल ठट्टा गरिएको निहुमा रुसका आर्सेन नामका व्यक्तिले आफ्नी श्रीमतीलाई डिभोर्सको नोटिस दिएका हुन् । यो मामिला दुई साता अगाडि कै थियो । जब अर्जेन्टिना र नाइजेरियाबीचको खेल भयो तब आर्सेनकी श्रीमतीले उनलाई मेसीलाई लिएर गिज्याउने गर्थिन् । मेसीले आइसल्यान्डविरुद्धको खेलमा पेनाल्टी मिस गरेको कुरालाई लिएर श्रीमतीले रोनाल्डोले मेसी भन्दा राम्रो भनिदिइन् ।

श्रीमतीलाई थाहा पनि भएन यो सानो ठट्टा उनको लागि समस्या ल्याउँछ भनेर । आर्सेनले यसलाई ठूलै विवाद बनाएर श्रीमतीसँग रिसाएर राति नै घर छाडिदिएका थिए । कुरा यही नै टुंगिएन । बिहान हुने वितिकै उनले आफनी श्रीमतीको हातमा डीभोर्सको पेपर थमाइदिएका थिए ।

रुसी मिडियामा दिएको अन्तर्वार्तामा आर्सेनले बताए कि उनी र उनकी श्रीमती ल्युडमिला २००२ मा विश्वकप भएको समयमै पहिलो पटक भेटेका थिए । यहीबाट उनीहरुको प्रेम भएको र पछि बीहे गरेका थिए । उनले बताए कि उनलाई श्रीमतीले लगातार मेसीको नामबाट गिज्याइरहेकी थिइन् । यही कारण उनले १६ वर्षको दाम्पत्य जीवन छोड्ने निर्णय गरेको बताएका थिए ।