रूस इतिहास रच्ने धुनमा



२१औं संस्करणको फिफा विश्वकप आयोजक रसियाले शनिबार राति सोचीको फिष्ट ओलम्पिक स्टेडियममा हुने अन्तिम क्वाटरफाइनल म्याचमा क्रोएशियासंग खेल्दैछ । यसमा विजयी हुने टोलीले सेमीफाइनलमा स्वीडेन र इंग्ल्याण्डबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

यसअघि अन्तिम १६ को खेलमा यी दुवै टोली टाईब्रेकरमा विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा रसिया र स्पेन तथा क्रोएशिया र डेनमार्कबीच समान १–१ गोलको बराबरीमा खेल टुङ्गिएपछि टाईब्रेकरमा विजेताको निर्णय भएको थियो ।

एक म्याच प्रतिबन्धपछि स्पेनविरुद्धको खेलमा नदेखिएका रसियाका इगोर स्मोल्नीकोभ क्रोएशियाविरुद्धको खेलमा भने मैदानमा फर्कने छन् । यस्तै समूहको पहिलो खेलमा चोट बेहोरेका एलन जागोएभ पनि क्वाटरफाइनलमा खेल्न सक्नेछन् । तर स्पेनविरुद्धको खेलमा चोट लागेका यूरि झिर्कोभ खेल्नेमा भने ठूलो आशंका छ ।

यदि उनी दुरुस्त हुन नसकेमा भने फ्योडोर कुद्रीएशोभले रसियाली लेफ्टब्याक सम्भाल्नेछन् । रसियाका उच्च गोलकर्ता डेनिस चेरीशेभ पनि सुरुवाती ११ मा अटाउने प्रबल सम्भावना रहेको छ । यता डेनमार्कविरुद्धको खेलमा चोट लागेका क्रोएशियाका ईभान स्त्रीनीच भने रसियाविरुद्ध खेल्नेमा आशंका छ । यदि उनले नखेलेमा भने जोसिप पिभारीचले उनको स्थान लिनेछन् । यस्तै भरड्रान कोर्लुका र अन्डेज क्रमरिच पनि रसियाविरुद्धको खेलमा मैदानमा उत्रने सक्नेछन् ।

विश्वकप अघि खेलिएको ७ खेलमा रसियाले कुनै पनि म्याचमा जित निकाल्न सकेको थिएन । तर विश्वकपको समूह चरणमा भने साउदी अरेबियालाई ५–० ले तथा इजिप्टलाई ३–१ ले हराउँदै रसियाले अन्तिम १६ को यात्रा पक्का गरेका थिए । यद्यपि समूहको अन्तिम खेलमा भने रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको थियो ।

अन्तिम १६ मा भने रसियाले बलियो रक्षापंक्तिको नमूना पेस गर्दै स्पेन जस्तो सशक्त टिमलाई टाईब्रेकरमा माथ खुवाउन सफल भए । यता क्रोएशिया भने पछिल्ला ५ खेलमा अपराजित नै रहेको छ । ब्राजिलविरुद्ध एन्फील्डमा मैत्रीपूर्ण म्याच खेलेयता क्रोएशिया पराजित भएको छैन । विश्वकप तयारी अनुरूप खेलिएको अन्तिम वार्मअप म्याचमा सेनेगललाई २–१ ले हराएपछि क्रोएशिया रसिया पुगेको हो । जारी विश्वकपमा पनि क्रोएशियाले खेलेको ४ वटै म्याचमा शतप्रतिशत जित हासिल गरेको छ ।

सम्भावित ४–१–४–१ को रणनीति अपनाउन सक्ने क्रोएशियाविरुद्ध रसियाले ४–२–३–१ को रणनीतिमा खेल्ने सम्भावना छ । जसअनुसार क्रोएशियाका फरवार्ड मारियो मान्डुजीकलाई अट्याकिंग मिडफील्डरहरु आन्टे रेबीच, लुका मोड्रिच, इभान राकिटिच र इभान पेरिसिचले आक्रमणमा सघाउनेछन् । यता स्पेनलाई जसरी नै क्रोएसियाको आक्रमणलाई पनि विफल पार्न रसियाको गोलरक्षक इगोर अकीनफीभ र डिफेन्डरहरु मानुएल फर्नान्डेज, इल्या कुटेपोभ, सर्जी इग्नासेभिच र फ्योडोर कुद्रीएशोभ पनि रक्षापंक्तिमा बलियो पर्खाल बन्न सक्नेछ ।

यस्तै फरवार्ड अर्टेम ज्यूबा सहित अट्याकिंग मिडफील्डरहरु एलेक्जेन्डर सामेडोभ, डेनिस चेरिशेभ, एलेक्जेन्डर गोलोभिनले क्रोएशियाको गोलरक्षक डेनिजेल सुबासेईच सहित डिफेन्डरहरु सिमे भर्सलज्को, डेजन लोभरेन, डोमागज भिडा र जोसेप पिभारीचको रक्षापंक्तिलाई ब्यस्त पार्न सक्नेछ ।

यसैगरी रसियाली डिफेन्सिभ मिडफील्डरद्वय यूरी गजिन्स्की र रोमन जोबनीन तथा क्रोएसियाली डिफेन्सिभ मिडफील्डर मार्सेलो ब्रोजोभिचले भने आ–आफ्नो टोलीको रणनीति अनुसार अग्रपंक्ति र रक्षापंक्तिलाई सहयोग गर्नेछ । रसिया मुख्यतः डेनिस चेरीशेभ, अर्टेम ज्यूबा र एलेक्जेन्डर गोलोभिनको प्रदर्शनमा भर पर्नेछ । यता क्रोएशिया भने सेन्ट्रल मिडफील्डरद्वय लुका मोड्रिच र इभान राकिटिच तथा स्ट्राइकर मारियो मान्डुजीकीचको प्रदर्शन निर्भर हुनेछ ।

हेड टू हेडः
क्रोएशियाले अहिलेसम्म रसियाविरुद्धको खेल गुमाएको छैन । पछिल्ला ३ भेट मध्ये क्रोएशियाले १ मा जित र दुईमा बराबरीको नतिजा निकालेको छ । यसक्रममा क्रोएशियाले ३ गोल गर्दा रसियाले १ गोल फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्