विश्वकप: स्पेनले रुससँग भिड्ने, पोर्चुगलको प्रतिद्वन्दी उरुग्वे



मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपको समूह बी को विजेता बन्दै स्पेनले अन्तिम १६ मा आयोजक राष्ट्र रुससँग भिड्ने पक्का गरेको छ ।

सोमबार भएको समूह बी को अन्तिम चरणको खेलमा स्पेनले मोरोक्कोसँग बराबरीमा रोक्नु परे पनि समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । उक्त खेलमा मोरोक्कोले स्पेनलाई २–२ को बराबरीमा रोकेको थियो ।

खेलको १४ औं मिनेटमा खालिद बोटाइबले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । तर १९ औं मिनेटमा स्पेनका इस्कोले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा थप दुई गोल भए । खेलको ८१ औं मिनेटमा यूसुफ एन नेसरीले गोल गर्दै मोरोक्कोलाई पुनः अग्रता दिलाए ।

तर त्यसको १० मिनेटपछि इगो एसपासले गोल गर्दै स्पेनलाई हारबाट जोगाएका थिए । स्पेनले पहिलो खेल पोर्चुगलसँग ३–३ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा इरानलाई १–० ले हराएको थियो ।

पोर्चुगलको प्रतिद्वन्दी उरुग्वे
क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहारलाई ईरानी गोलरक्षकले बचाएपछि पोर्चुगल समुह ‘बी’ को विजेता हुनबाट चुकेको छ । सोमबार राति भएको खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल समुह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश ग¥यो । पोर्चुगलले अन्तिम १६ मा समुह ‘ए’ को विजेता उरुग्वेको सामना गर्नेछ ।

खेलको ४५ औं मिनेटमा पोर्चुगलका रिकार्डो क्वारिज्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा पाएको पेनाल्टीलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्न नसकेपछि पोर्चुगलले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो । उनको प्रहारलाई इरानका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।

यता खेलको ९३ औं मिनेटमा भने पोर्चुगलका खेलाडीले क्लियर गर्ने क्रममा आफ्नो डी एरियाभित्र बललाई हातले छोएपछि ईरानले पेनाल्टीको अवसर पाएको थियो । जसलाई इरानका करिम अन्सारफार्डले गोलमा परिणत गरेपछि खेल १–१ को बराबरीमा सकियो ।
पोर्चुगलले पहिलो खेल स्पेनसँग ३–३ को बराबरी खेलको थियो भने दोस्रो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो ।

पोर्चुगलसँग बराबरीमा रोकिएको इरानले भने चार अंक जोडेपनि अघिल्लो चरण प्रवेश गर्न सकेन । यो समूहबाट चार अंक जोडेको इरान र १ अंक जोडेको मोरोक्को भने समुह चरणबाटै घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्