उरुग्वेको विजयी शुरूआत

0
Shares

मस्को, (एजेन्सी)
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ए को दोस्रो खेल जित्दै उरुग्वेले विजयी शुरूआत गरेको छ।

खेलको ९०औं मिनेटमा डिफेन्डर जोसे गिमिनेजले हेडमार्फत गोल गर्दै उरूग्वेको तीन अंक पक्का गरेको हो। खेल अवधिभरि निकै रक्षात्मक खेल पस्केको इजिप्ट इन्जुरी समयको पहिलो मिनेटमा गोल बेहोर्न पुग्यो। कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेका हुन्। इजिप्टका लागि गोलकिपर एल–सेनावीले शानदार प्रदर्शन गरेका थिए। उनले खेलको दोस्रो हाफमा दुई राम्रो प्रहारको उत्कृष्ट बचाउ गरेका थिए। इजिप्टका चर्चित फरवार्ड मोहमद सलाह भने शुक्रबारको खेलमा सहभागी थिएनन्।

यता उरुग्वेले ५८ प्रतिशत बल पोजेसन बनाएको उक्त खेलमा गोलका लागि १५ पटक प्रयास गरेका थिए। जसको बदलामा इजिप्टले पटक मात्र गोलको प्रयास गरेका थिए। खेलपछि उरुग्वेका प्रशिक्षक ओस्कार तबरेजले उक्त समूहमा सो म्याच जित्नु भनेको अर्को चरणका लागि बाटो खोल्नु सरह भएको बताए। यस्तै इजिप्ट प्रशिक्षक हेक्टर कुपरले उरुग्वेविरुद्धको खेलमा भोगेको हारबाट आगामी खेलमा अझ राम्रो खेल्ने प्रयास गर्ने बताए। आफ्नो टोली सन्तुलित भएको तर मोहमद सलाहको कमी खट्किएको बताए। उनी टिमका महत्वपूर्ण खेलाडी भएको र आगामी खेलमा उनले खेल्ने बताए।

जितसंगै उरुग्वेले समूह ‘ए’ मा ३ अंक जोड्न सफल भएको छ। पहिलो खेलमा साउदी अरेबियालाई ५–० हराएको रुसको पनि समान ३ अंक भए पनि गोल भिन्नताका आधारमा रुस समूहको पहिलो स्थानमा रहेको छ। इजिप्ट र साउदी अरेबिया भने अंकविहीन बन्दै क्रमशः तेस्रो र चौथो स्थानमा छन्। यो खेलसँगै उरुग्वेले सन् १९७० यता विश्वकपमा पहिलोपटक पहिलो खेलमा विजय हात पारेको छ। इजिप्टले भने अहिलेसम्म पनि विश्वकपका खेलमा जित हात पार्न सकेको छैन।

Skip This