स्पेनले इतिहास कोरेको विश्वकप



सन् २०१० मा पहिलो पटक अफ्रिकी महादेशमा भएको फिफा विश्वकपले नयाँ विश्व च्याम्पियन प्राप्त ग¥यो। दक्षिण अफ्रिकामा भएको १९औं विश्वकपको उपाधि युरोपियन राष्ट्र स्पेनले जितेको हो। स्पेनले युरो २००८ जितेर विश्वकप पनि जित्दै इतिहास कोरेको थियो।

जोहानेसवर्गको सकर सिटी स्टेडियममा भएको फाइनलको अतिरिक्त समयमा स्पेनले नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै विश्वकपमा इतिहास बनाएको थियो। खेल अतिरिक्त समयमा जाने छनक देखाइरहेको स्थितिमा आन्द्रे इनिस्टाले निर्णायक गोल गरेका थिए। स्पेन विश्वकप ट्रफी चुम्ने आठौं राष्ट्र हो। २० वटा प्रतियोगिता हुँदा अहिलेसम्म ८ राष्ट्रले मात्रै उपाधि उचालेका छन्।

उता त्यसपटक उपाधि चुम्ने भनेर अनुमान लगाइएको राष्ट्र नेदरल्यान्ड्स फेरि अभागी साबित भयो। तेस्रो पटक फाइनल पुगेको डच टोलीले फेरि एकपटक उपविजेतामै चित्त बुझाउनुपरेको थियो। नेदरल्यान्ड्स यसअघि सन् १९७४ र १९७८ को विश्वकप फाइनलमा पराजित भएको थियो। बिहीबारदेखि रुसमा शुरू हुन लागेको विश्वकपमा भने नेदरल्यान्डेस छनोट हुन सकेन।

विश्वकपको इतिहासमा पहिलो पटक प्रतियोगिताभरि सर्वाधिक गोलकर्ता ४ जना भएका थिए। उरुग्वेका डिएगो फोरल्यान, जर्मनीका थोमस मुलर, नेदरल्यान्ड्सका वेस्ले स्नाइडर र स्पेनका डेभिड भियाले समान ५ गोल गरेका थिए। प्रतियोगिताको बेस्ट प्लेयर डिएगो फोरल्यान चुनिँदा, स्पेनका इकेर कासिलास बेस्ट गोलकिपर र जर्मनीका थोमस मुलर बेस्ट योङ प्लेयर घोषित भए।

प्रतिक्रिया दिनुहोस्