विकासको खाका खोइ?



अहिले सबैतिर समृद्धि र विकासको चर्चाले बजार पिटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक सार्वजनिक सभा, समारोहमा समृद्धि, विकास, देशलाई धनी बनाउनेजस्ता अभिव्यक्तिले आम जनतालाई मुलुक त्यस दिशातर्फ अघि बढिरहेको आभाष दिलाउन खोजेको प्रतीत हुन्छ । तर समृद्धि के हो ? समृद्धि कसरी आउँछ ? नेपालजस्तो देशमा विकासको मोडेल कस्तो हुने ? अहिलेसम्म पनि सरकारले स्पष्टरूपमा जनतालाई बताउन सकेको छैन ।
सिद्धान्ततः विकास एउटा बहुआयामिक अवधारणा हो । आर्थिक, सामाजिक, राजनीतिक शिक्षा, स्वास्थ्य, आर्थिक, सांस्कृतिकको समग्र उन्नतस्तर हुनु विकासको परिभाषाभित्र पर्दछ ।

विकासको लक्ष्य नै बहुसंख्यक जनतालाई सुखी बनाउने हो । तर अहिले जसरी रेल ल्याउने, हावाबाट बिजुली ल्याउने, विकासले छलाङ मार्ने कुरा सरकारले तीव्ररूपमा प्रचार गर्दै छ, त्यसबाट आम जनताको जीवनस्तरमा सकारात्मक पार्ने प्रभाव पारको छ वा छैन त्यस विषयमा खासै लेखाजोखा गरिएको पाइँदैन । विकास कसका लागि ? कसले गर्ने ? सरकारले जनतालाई अहिलेसम्म भन्न सकेको छैन ।

यस दृष्टिमा आम जनताले सोचेको विकासको सपना र सरकारले आभाष गराउन खोजेको ‘समृद्ध नेपाल र सुखी नेपाली’बीच तारतम्यता मिलेको मात्र नभई निकै विरोधाभाषसमेत देखिएको छ । अर्कोतर्फ विकास भनेको सरकारले जनतामा थोपर्ने नभई जनताको सक्रिय सहभागिता हुने अभियान हो। विकासको माध्यम र लक्ष्य नै जनता हो । समाजवादी चिन्तक बीपी कोइराला प्रधानमन्त्री हुँदा सिंहदरबारको राष्ट्रिय योजना आयोगमा किसानको तस्वीर राख्नुपर्ने कथनले योजना बनाउँदा गरिब किसान, श्रमिक जनता, सामाजिक संरचनामा पछाडि परेका वर्ग र समुदायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभएको तथ्यले विकासको लक्ष्य जनता नै रहेको स्पष्ट हुन्छ ।

नेपालको वस्तुस्थिति सुहाउँदो विकासको मानक बारे अहिले पनि चर्चा भएको छैन । विकासको फ्लाई ओभर, मोनोरेल ल्याउने, रेल गुडाउनेजस्ता ‘डिस्कोर्सले वस्तुतः आम नेपाली जनताले दैनिकरूपमा भोग्नुपरिरहेको समस्यालाई छोप्नका लागि मात्र हो त भन्ने प्रश्न चि≈न खडा गरिदिएको छ । जनताले भोग्नुपरिरहेको समस्याबाट अलग भएर, दीर्घकालीन योजना र जनताको सहभागिताबिना मुलुकको विकास हुँदैन, न त्यसबाट सही अर्थमा मुलुकको विकास नै हुनेछ ।

नेपालजस्तो आर्थिक, सामाजिक, सांस्कृतिक संरचना भएको देशमा विकासको मोडेल यहाँको संस्कृति, सामाजिक र पर्यावरण सुहाउँदो हुनुपर्दछ । डोजरलाई विकासको बिम्बका रूपमा मात्र देख्ने, उचित योजनाबिना कृषियोग्य जमिनको नास, सांस्कृतिक र पर्यावरणविरोधी विकासको सोचले आम नेपाल र नेपालीले चाहेको विकास मृगतृष्णा मात्र हुने तथ्यलाई सरकारले पञ्चायतकालमा चलेको विकासको चर्चाबाट पनि शिक्षा लिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्