नेपाल समाचारपत्र
काठमाडौं
दुई विभागीय टोलीले सेमिफाइनलको स्थान सुरक्षित गरेपछि अर्को विभागिय टोली नेपाल पुलिस क्लब पनि पीएम कप क्रिकेट प्रतियोगिताको अन्तिम ४ निकट पुगेको छ ।
मंगलबार मूलपानी मैदानमा भएको समूह–बीअन्तर्गत खेलमा पुलिसले प्रदेश नम्बर ३ लाई ६ विकेटले हराएर अन्तिम ४ तिर अग्रसर भएको हो । पुलिसले जितसँगै ५ अंक जोडेको छ भने बाँकी टोली प्रदेश ५ र प्रदेश ७ को पनि समान ५ अंक नै रहेको छ । आज पुलिसले प्रदेश ५ सँग खेल्दैछ । जुन खेलका विजेताले सीधै अन्तिम ४ को स्थान सुरक्षित गर्नेछन्। हार्ने टोली र प्रदेश ७ बीच नेट रनरेटमा अन्तिम ४ मा पुग्ने १ टोलीको तय हुनेछ ।
बुधबार हुने खेलमा जुन टोलीले ठूलो अन्तरले जितेमा प्रदेश ७ को अन्तिम ४ पुग्ने आशा बन्न सकिन्छ । यदि कडा प्रतिस्पर्धा भएर हारको अन्तर कम भएमा हार्ने टोलीले पनि अन्तिम ४ मा स्थान बनाउनेछ । यो भएमा समूहमा तेस्रो स्थानमा रहेको प्रदेश ७ प्रतियोगिताबाट बाहिरिने पक्का छ । वर्षाका कारण टी–२० मा परिणत भएको खेलमा पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ३७ रन बनाएको थियो । टोलीका लागि सोनु तामाङले ४८ रन र आदिल खानले ४५ रन बनाउनुबाहेक अन्य दोहोरो अंकमा पुगेनन् । बलिङतर्फ पुलिसका रामनरेश गिरिले ३ विकेट लिए भने ललित भण्डारीले २ विकेट हात पारेका थिए ।
जवाफमा पुलिसले १ सय ३८ रनको लक्ष्य ४ विकेटको नोक्सानीमा एक बल बाँकी राखी भेटाएको थियो । टोलीका लागि ओपनर सुनील धमला र मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले अर्धसतकीय इनिङ खेलेर जित पक्का गरे । म्यान अफ द म्याच आरिफले ६० रन र सुनिलले ५० रनको योगदान दिए भने उनीहरूले चौथो विकेटका लागि १ सय १० रनको साझेदारी गरेका थिए । बलिङतर्फ प्रदेश ३ का रुपेश श्रीवास्तवले २ विकेट लिए ।
आर्मी शीर्षमा
यस्तै कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ७० रनले पराजित गरेर समूह ‘ए’ मा शीर्ष स्थान हात पा¥यो । पहिल्यै सेमिफाइनलमा पुगिसकेका यी २ टोलीबीच शीर्ष स्थानका लागि प्रतिस्पर्धा भएको थियो । वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले सबै विकेट गुमाएर २ सय २८ रन जोडेको थियो ।
ओपनर अनिल मण्डलले ७२ रन बनाउँदा कप्तान विनोद भण्डारीले आक्रमक ब्याटिङ गर्दै २२ बलमै ५० रन बनाए । भण्डारीले २३ बलमा ७ छक्का प्रहार गर्दै वसन्त रेग्मीको बलमा बोल्ड भएपछि उनको ब्याटिङ रोकिएको थियो । तर सागर पुन ४ रनले अर्धसतकबाट चुके भने नरेश बुढाऐरले ३७ रनको योगदान दिएका थिए । बलिङतर्फ एपीएफका भुवन कार्कीले ३ विकेट लिए भने करण केसी, कमलसिंह ऐरी, वसन्त रेग्मी र पृथु बास्कोटाले १–१ विकेट लिए । अनिल म्यान अफ द म्याच घोषित भए । प्रत्युत्तरमा उत्रेको एपीएफ ३२.५ ओभरमा १ सय ५८ रनमै समेटिएको थियो ।











प्रतिक्रिया