रोमेरो विश्व कपबाट बाहिरीए

0
Shares

लन्डन, (एजेन्सी)
गोलकिपर सर्जियो रोमेरो चोटले बाहिरिएपछि अर्जेन्टिनाका लागि रुसमा हुने विश्वकपको यात्रामा धक्का लागेको छ। ३१ वर्षीय म्यानचेस्टर युनाइटेडका गोलकिपर घुँडाको चोटले गर्दा शुरू हुन लागेको विश्वकपबाट बाहिरिएका हुन्। विश्वकप शुरू हुन तीन साता मात्रै बाँकी रहेको छ। केही समर्थकले उनी बाहिरिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा सहज नहुने अनुमान लगाइएका छन्।

राष्ट्रका लागि ९४ खेल खेलेका रोमेरो ब्राजिलमा सम्पन्न विश्वकपमा प्रमुख भूमिका खेल्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएका थिए। उनको टोली जर्मनीसँग १–० गोलअन्तरले हारेपछि उपाधिबाट विमुख भएको थियो। अर्जेन्टिनाका लागि वैकल्पिक गोलकिपरहरू चेल्सीबाट खेल्ने वीली क्याबालेरो र रिभर प्लेटका फ्रान्को अर्मानीले आगामी विश्वकपमा गोलकिपिङ गर्नेछन्। तर यसमध्इे अर्मानीले राष्ट्रका लागि खेलेका छैनन् भने क्याबालेरोले दुई अन्तर्राष्ट्रिय खेल खेलेका छन्। त्यति अनुभवी नभएका गोलकिपरका साथ अर्जेन्टिना रुसमा हुनेछ।

अर्जेन्टिनाले रोमेरो स्थानमा टाइग्रेसका नाहुएल गुजम्यानलाई टोलीमा बोलाएको छ। अर्जेन्टिनाको फुटबल संघले रोमेरोको दायाँ घुँडाको शल्यक्रिया हुने पनि जनाएको छ। रुसमा हुने २१औं विश्वकपअन्तर्गत अर्जेन्टिनाले पहिलो खेल आइसल्यान्डविरुद्ध जुन १६ मा खेल्नेछ। त्यसपछि समूह डी मा रहेको लियोनल मेसीको नेतृत्वमा रहेको टोलीले क्रोएसिया र नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछन्। यस पटक उपाधि जित्ने दाउमा रहेको टोली मेसीसँगै सर्जियो अग्वेरो, गोन्जालो हिग्वेन र एन्जेल डी मारियामाथि बढी निर्भर हुनेछ।

Skip This