पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हरायाे



काठमाडौं  । आइसीसी विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराएको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २८ ओभर २ बलमा ओभरमा पुरा गर्न सफल रह्यो ।

नेपालका लागि आज ब्याटिङमा नायक शरद भेषावकर र दिपेन्द्र सिंह ऐरी रहे । दिपेन्द्रले ३२ बलमा ४१ रन जोडे भने शरद ४० रनमा अवजित रहे ।

नेपालको टप-अर्डर आज पनि क्रिजमा धेरैबेर जम्न सकेन । उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए भने दिलिप नाथले ४ रनको योग्दान दिए । त्यस्तै कप्तान पारस खड्काले २८ रनको पारी खेले भने अनिल शाह ११ रनमा आउट भएका थिए । शरदसँगै आरिफ शेख २३ रनमा अवजित थिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ रोज्दै युएई २८ ओभर ५ बलमा १ सय ७१ रनमा अलआउट हुने पुगेको थियो । मैदान चिसो भएका कारण खेल ढिलो सुरु भएको थियो र खेललाई २९ ओभरमा छोट्याइएको थियो ।

युएईले ५ रनमा पहिलो विकेट गुमाएको थियो । कप्तान रोहन मुस्तफा ४ रनमा आउट भएपनि अस्फक अहमद (४२) र गुलाम सबेर (३२) बीचको ६६ रनको साझेदारीको मद्धतले युएईको ब्याटिंगले लय समात्यो । नेपाली बलरहरुले युएईका शिर्षक्रमका ब्याट्सम्यानहरुलाई रोकेपनि अद्नान मुफ्ती र मुहम्मद उस्मानले विष्फोटक ब्याटिंग गर्दै युएईलाई बलियो रन तर्फ डोहोर्याए ।

मुफ्तीले २६ बलमा ३७ रन बनाए भने २० बलमा २६ रन बनाएका उस्मानलाई ललित भण्डारीले आउट गरे । अन्तिम २ ओभरमा युएईको ५ विकेट पतन भएको थियो । नेपालका लागि ललित भण्डारीले ४, करण केसीले ३ तथा ललित राजबंशीले २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिए । करणले ३ विकेट अन्तिम ओभरमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्