स्वराज भ्रमणको उपलब्धि



चिसो काठमाडौंमा औपचारिक निम्ताविना नै प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा बिहीबार टुप्लुक्क आइपुगेकी भारतकी विदेशमन्त्री सुषमा स्वराज यहाँको भलाकुसारी सकेर शुकबार स्वदेश फर्किइन्। नेपाल सरकारले निम्ता दिएर बोलाएको नभए पनि उनलाई विमानस्थलमा अर्थ राज्यमन्त्री र परराष्ट्र सचिवले स्वागत गरे। नेपाल बसाइमा भने उनले मूलतः चुनाव जितेको कम्युनिस्ट गठबन्धन र मधेसी दलका नेताहरूसँग भेटवार्ता गरिन्। एजेन्डाविहीन भ्रमणमा राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेट औपचारिकता मात्र थियो भन्ने सहजै बुझिन्छ। उनले धेरै महत्व ‘प्रतीक्षारत प्रधानमन्त्री’ नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई दिइन्। कम्युनिस्ट गठबन्धनकै अर्को घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी दलका नेताहरू उनको दोस्रो प्राथमिकतामा परे।

विदेशमन्त्री सुषमा स्वराजको भ्रमणमा नेपाली कांग्रेसका नेता सबैभन्दा उपेक्षित भए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर नेपालको २५ घन्टाको सद्भावना भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज भारतप्रति नेपालको सद्भावना बोकेर स्वदेश फर्किएकी हुन्। तर, उनको यो भ्रमणले नेपालको राजनीतिमा अदृश्य तरंग छाडेको छ। उनले सर्वप्रथम वाम गठबन्धनका भावी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनलाई अग्रिम शुभकामना तथा बधाई दिँदै उनको नेतृत्वको सरकारसँग मिलेर सहकार्य गर्न भारत सरकार अत्यन्त इच्छुक रहेको जानकारी दिएकी थिइन्। अरु छिमेकी देशभन्दा भारत नेपालको सुख–दुःखको अभिन्न मित्र भएको कुरा भावी प्रधानमन्त्री ओलीसँगको एक घन्टा लामो एक्लाएक्लै भेटमा भारतीय विदेशमन्त्रीले बताएकी थिइन्। तर, उनका यी भनाइहरू सिद्धान्त र व्यवहारमा कति समान छन् या छैनन् भन्ने कुराको नेपालका सचेत जनताले चिन्तन, मनन र समीक्षा गर्नुपर्ने विषय बनेको छ।
नेपाल र भारतबीच लामो समयदेखि सम्बन्ध सुमधुर हुँदाहुँदै पनि यदाकदा विवादमा पर्ने गरेको छ। केही समयअघि भारतले नेपालमाथि लगाएको नाकाबन्दीलाई धेरै नेपालीले बिर्सेका छैनन्। यस्तै, मेचीदेखि महाकालीसम्मको खुला सिमानामा दर्जनौँ स्थानमा भएको भारतीय अतिक्रमणलाई पनि हामी देशभक्त नेपालीले बिर्सेका छैनौँ। सन् १९५० को असमान नेपाल–भारत सन्धिलाई समयानुकूल परिमार्जन गर्दै वैज्ञानिक ढंगबाट सीमा स्तम्भ गाडिनुपर्ने कुरामा पनि हाम्रो जोड रहँदै आएको छ। तर, विडम्बना यो छ कि नेपाल सरकारले कूटनीतिक माध्यमबाट यी ज्वलन्त समस्याको समुचित समाधान गर्न सकेको छैन। यी महत्वपूर्ण विषयहरूको उचित समाधान भएपछि मात्र भारतीय सद्भावको केही अर्थ रहन सक्छ।

एउटा रोचक र सुखद संयोग के पनि बन्न गएको छ भने, भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाललाई दिने अनुदानमा ७० प्रतिशत वृद्धि गरिएको छ। एकान्त वार्तालापमा सबैलाई उनले सहयोग गर्ने बचन दिएको सार्वजनिक भएको छ। यस्तो सहयोग देश हितकै लागि त होला भन्ने अपेक्षाबाहेक अरू गर्नै पो के सकिन्छ र ? भारतले जति नै निकटता र विशेष सम्बन्धको दुहाइ दिने गरे पनि २०७२ सालमा भुइँचालोले थिलथिलो भएको नेपालमाथि भारतले लगाएको नाकाबन्दीको पीडा नेपालीले अहिल्यै बिर्सेका छैनन्। विगतलाई बिर्सेर नयाँ युगको सूत्रपात गर्ने हो भने पनि सुषमा स्वराजको अति हार्दिकता स्वाभाविकभन्दा नाटकीय देखिएको छ। कम्युनिस्ट गठबन्धनको सरकार चीनसँग निकट होला कि भनेर हतारमा गरिएजस्तो विदेशमन्त्री स्वराजको भ्रमणले नेपालमा कुनै सकारात्मक सन्देश दिन सकेन। सामाजिक सञ्जालमा त यसलाई हस्तक्षेप भन्नेहरूकै बाहुल्य छ। यद्यपि, अहिले भारतलाई सराप्नुको कुनै अर्थ छैन। कम्युनिस्टहरू एक हुन सकेनन् भने वा नेपाली कांग्रेस र मधेसी दलबीच दूरी बढ्यो भने त्यसमा भारतलाई दोष दिनु पनि सही हुँदैन।

भारतीय विदेशमन्त्रीले आफ्नो सरकार नेपालसँग विकास परियोजनामा सहकार्य गरेर अघि बढ्ने तथा जलस्रोत र क्षेत्रीय सुरक्षासमेतका विषयमा भावी सरकारसँग हातेमालो गर्ने धारणा भावी प्रधानमन्त्री ओलीसँग बताएकी थिइन्। भारतीय विदेशमन्त्रीको हतारमा भएको यो भ्रमणले दक्षिण एसियामा आफ्नो वर्चश्व र प्रभावलाई अझ बढी बलियो बनाउन भारत इच्छुक रहेको बुझ्न सकिन्छ। अर्को ठूलो छिमेकी राष्ट्रभन्दा नेपालप्रति आफ्नो बढी चासो देखाउन र मनोवैज्ञानिक प्रभाव यथावत् राख्न उनको यो भ्रमण केन्द्रित रहेको कूटनीतिक विश्लेषकहरूले अनुमान गरिरहेका छन्।

भारतले वास्तवमै नेपालसँग सम्बन्ध सुधार्न चाहेको हो भने असमान सन्धिको तत्काल समयानुकूल परिमार्जन गर्न र सीमा विवाद यथाशक्य छिटो टुंग्याउन विशेष पहल गर्नु अत्यावश्यक देखिन्छ। अन्यथा, यस्तो हतारको एजेन्डाविहीन भ्रमणले नेपाल र नेपाली जनताको हित हुनसक्ने छैन। साथै, असमान व्यापार र पारवहन क्षेत्रका समस्याहरू पनि नेपालका समस्याभित्र पर्ने भएकाले भारत सरकारको यस विषयमा ध्यानाकर्षण हुन जरुरी छ। उनी सहभागी भएको प्रधानमन्त्री निवासको दिवाभोज औपचारिकता मात्रै हो। एक्लाएक्लै भएको भनिएको भेटघाटमा के कुराकानी भए र भावी प्रधानमन्त्रीले भारतीय विदेश मन्त्रीलाई कुनै बचन दिएका वा सहयोग मागेका छन् कि भन्ने आधिकारिक अभिलेखसम्म पनि छैन। विगतमा यस्तै एकान्तका बाचा–कबोलले नेपाली जनताले सास्ती पाएका र राष्ट्रिय अस्मितामा आँच आएको उदाहरण छ। नेपालका राजनीतिक नेताहरू नै गड्यौला प्रजातिका नहुने हो भने अरू कसैको इशारा वा सन्देशले केही गर्नेछैन। सुषमा स्वराजको भ्रमणको सन्देश आ–आफ्नै अनुमानअनुसार ग्रहण गर्न सबै स्वतन्त्रै छन्। तर, नेपाली जनमानसले यसलाई सकारात्मकरूपमा लिएको देखिएन। बाबुहरूको साटो विदेश मन्त्रीलाई नै मोदीले विशेष दूत बनाएर पठाए भनेर आत्मसन्तोष गर्ने ठाउँ भने छ। कम्युनिस्ट गठबन्धनका नेतालाई भेटेरै बधाई दिन आएकी विदेशमन्त्री स्वराजको सद्भाव नेपालप्रति पनि हो कि चुनाव जितेका दलहरूकै लागि मात्र हो भन्ने थाहा पाउन त केही समय पर्खनै पर्ला।

संसारको कुनै पनि मुलुकको प्राथमिकतामा आफ्नै स्वार्थ हुन्छ भन्ने बिर्सन हुँदन। भारतीय विशेष दूतले यसपटक तर्साउनुको साटो फकाएर गएको सन्देश प्रवाहित भएको छ। यद्यपि, भारतका विदेशमन्त्री सुषमा स्वराजसँग नेपालका राजनीतिक नेताहरूले एक्लाएक्लै भेट गर्नुको रहस्य भने खुलेको छैन। सार्वजनिक हुनुपर्ने विषयलाई रहस्यमय बनाएपछि अड्कल र अनुमानकै त भर परिन्छ नि ⁄ भारतीय पक्षले आफ्नो हितमा हुने गरी अड्कलेर सूचना प्रवाहित गर्नु स्वाभाविकै हो। नेपालका नेताहरू त भेटमा सहयोगी नै राख्दैनन्। संसारमा अन्यत्र यस्तो चलन विरलै होला। जे होस्, भारतीय चासो वाम गठबन्धनको सरकारमा धेरै हुनुले पनि केही गाँठी कुरा भने पक्कै राख्छ।

– खिम घिमिरे, बीबीएस तेस्रो वर्ष
त्रिभुवन विश्वविद्यालय, काठमाडौं

प्रतिक्रिया दिनुहोस्